माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षामा १ लाख ४२ हजार ८ सय ५३ जना विद्यार्थीहरू सहभागी हुने भएका छन्। यही साउन २९ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि ती विद्यार्थीले परीक्षा आवेदन फारम भरेका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।
२०८१ साल चैत ७ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि यो मौका परीक्षा हो। २०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो।
उक्त परीक्षामा एसइई परीक्षामा सामुदायिक र संस्थागत गरी जम्मा ११ हजार २१६ वटा विद्यालयबाट ५ लाख १४ हजार ७१ जनाले फाराम भरेका थिए। सबै विद्यार्थी परीक्षामा भने सहभागी भएनन्।
बोर्डले फाराम भरेका नियमित र ग्रेडवृद्धि सबै गरी करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी नभएका जनाएको छ। परीक्षा बोर्डले यो परीक्षाको नतिजा गत असार १३ गते सार्वजनिक गर्यो। ०८१ को एसइई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी पास भएका थिए ।
फेल भएका २४ हजारभन्दा बढी विद्यार्थीले भरेनन् परीक्षा फारम
एसइई परीक्षामा एक लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गीकृत अर्थात् फेल भए। गणितमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्। यो वर्ष गणित विषयमा मात्रै एक लाख २८ हजार २१८ जना परीक्षार्थी फेल भए। यी विद्यार्थीहरूले पुन: मौका परीक्षा दिन पाउँछन्।
तर यी फेल भएका सबै विद्यार्थीहरूले मौका परीक्षा नदिने भएका छन्। एसइई परीक्षामा फेल भएका एक लाख ६७ हजार ५९७ विद्यार्थीमध्ये एक लाख ४२ हजार ८ सय ५३ जनाले मात्रै मौका परीक्षाको लागि आवेदन दिएका छन्। उक्त हिसाबले २४ हजार ७ सय ४४ जना विद्यार्थीहरूले एसइई मौका परीक्षाका लागि फारम नै भरेनन्।
४६९ परीक्षा केन्द्र कायम
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का नियन्त्रक अधिकारीका अनुसार यो मौका परीक्षाका लागि देशभर ४६९ परीक्षा केन्द्र तोकिएको छ। बाहिर देशको लागि भने परीक्षा केन्द्र तोकिएको छैन।
गत चैतमा सञ्चालन भएको एसइई परीक्षाका लागि भने देशभर २ हजार ७९ वटा र जापानमा एउटा परीक्षा केन्द्र तोकिएको थियो।
कुन दिन के विषयको परीक्षा ?
बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार यही साउन २९ गते अनिवार्य अंग्रेजी, संस्कृत/वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना अनिवार्य अंग्रेजी र मदर्सातर्फ अनिवार्य अरेबिक भाषा/अनिवार्य अंग्रेजी परीक्षा हुने छ।
साउन ३० गते अनिवार्य नेपाली, गैरनेपाली विद्यार्थीहरूका लागि अन्य भाषा विषयको परीक्षा हुनेछ। साउन ३१ गते अनिवार्य गणित सञ्चालन हुनेछ। भदौ १ गते अनिवार्य विज्ञान तथा प्रविधि, संस्कृत/वेद विद्याश्रमतर्फ शुक्लयजुर्वेद/ सामवेद/ ऋग्वेद/अथर्ववेद/नीतिशास्त्र अनिवार्य विज्ञान तथा प्रविधिलगायत विषयका परीक्षा सञ्चालन हुनेछ।









