जापनिज इन्सेफलाइटिसबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपुर, भदौ २ गते । जापनिज इन्सेफलाइटिसबाट नवलपुरमा एक पुरुषको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीका अनुसार मृत्यु हुनेमा मध्यविन्दु-१ पतवारीका ५२ वर्षीय पुरूष रहेका छन् ।

जापनिज इन्सेफलाइटिस सङ्क्रमित लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । संक्रमणबाट अन्य ३ जना बिरामी भएको र ती मध्ये कावासोती-१ निवासी ४४ वर्षीया महिला र वडा न ६ का ५१ वर्षका पुरुष उपचारपछि निको भएको सुवेदीले जानकारी दिनुभयो ।

जनस्वास्थ अधिकृत सुवेदीका अनुसार कावासोती-३ निवासी ८२ वर्षीया जापनिज इन्सेफलाटिसबाट बिरामी महिलाको उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ ।

जिल्लाका विभिन्न वडामा जापनिज इन्सेफलाइटिसका बिरामी देखिएपछि प्रभावित क्षेत्रका ज्वरो बिरामीहरूबाट आइतबार र सोमबार गरी १३ वटा रगत स्याम्पल कलेक्सन गरि परीक्षणका लागि प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखरा पठाईएको सुबेदीले बताउनुभयो ।

बिशेश गरि झरि वर्षादसंगै धान खेत, बागबानीमा काम गर्ने तथा ताल किनारमा माछा मार्ने मानिसहरूमा लामखुट्टेको टोकाईबाट जापनिज इन्सेफलाईटसको संकमण फैलने सुवेदीको भनाइ छ ।