जापनिज इन्सेफ्लाइटिसबाट नवलपुरमा ३ जनाको मृत्यु, १४ संक्रमित, दुई जना अस्पतालमै

बोमलाल गिरी
नवलपुर, भदौ २० गते । नवलपुरमा जापनीज इन्सेफ्लाइटिसबाट ३ जनाको मृत्यु भएको छ । १४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये दुई जना अझै पनि अस्पतालमै उपचाररत छन् भने बाँकी निको भएर घर फर्केका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका ल्याव टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीका अनुसार मृत्यु हुनेमा हुप्सेकोट–१ की १३ वर्षीया बालिका, मध्यविन्दु–१ का ५२ वर्षीय पुरुष र बौदिकाली–२ का ४५ वर्षीया महिला रहेका छन् ।

सबैभन्दा धेरै जिल्ला सदरमुकाम रहेको कावासोती नगरपालिकामा ६ जना, मध्यविन्दु नगरपालिकामा ४, हुप्सेकोट, देवचुली, बौदिकाली र गैँडाकोटमा एक एक जना संक्रमित रहेका तिवारीले जानकारी दिए । संक्रमितमध्ये दुई जनाको अझै पनि प्रादेशीक अस्पताल डण्डामा उपचार भइरहेको उनको भनाइ छ ।

जापनिज इन्सेफलाइटिस सङ्क्रमित लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । अघिल्लो आर्थिक वर्षमा जम्मा ३ जनामा संक्रमण भएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा १२ जना संक्रमित हुँदा ४ जनाले ज्यान गुमाएका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार विषेशगरि झरि, वर्षादसँगै धान खेत, बागबानीमा काम गर्ने तथा ताल, किनारमा माछा मार्ने मानिसहरूमा लामखुट्टेको टोकाईबाट जापनिज इन्सेफलाईटसको संकमण फैलने गरेको छ ।

यसैबीच जापनिज इन्सेफलाईटसको संकमण बढ्न थालेपछि कावासोती नगरपालिकाले रोकथामका उपाय अपनाउन सबैसित अपिल गरेको छ । प्रमुख प्रशासकीय अधिकृत महेश पाण्डेले सूचना निकालेर लामखुट्टेको टोकाइबाट जोगिन, हाँस, कुखुरा, सुंगुर, बंगुर जस्ता पशुपंक्षी र जनावरलाई घरदेखि टाढा सुरक्षित तरिकाले पाल्न, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाउन र सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् ।

कार्यालयले पनि विभिन्न पालिकाहरुमा जनप्रतिनिधि र सरोकारवालाहरुसँग मिलेर सरसफाइ र सचेतनामूलक कार्यक्रम गरिरहेको जनाएको छ ।