होटल संघ नेपाल (हान)ले जेन जी आन्दोलनको क्रममा झण्डै २ दर्जन होटलहरुमा ठूलो क्षति पुगेको जनाएको छ। प्रम्भिक जानकारी अनुसार प्रत्यक्ष प्रभावित होटलहरु काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरुमा ठूलो क्षति भएको हानले जनाएको हो।
होटल र प्रतिष्ठानमा भएका तोडफोड, आगजनी, लुटपाटबाट काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै ८ अर्बभन्दा बढीको क्षति समेत गरी देशैभर करिब २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। आन्दोलनका क्रममा हालसम्म ३४ जनाले सहादत प्राप्त गरेका छन् ।
यसबाट प्रभावित सदस्य होटलहरु मर्मतसम्भार, पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने हुँदा करिब दुई हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वको समयमा रोजीरोटीमा समेत प्रत्यक्ष प्रभाव पर्ने र हाल सञ्चालन अवरुद्ध भएका यी होटलहरुले व्यहोर्नुपर्ने बैंक–वित्तीय संस्थालगायतका आर्थिक दायित्व नियमित रुपमा तिर्न बुझाउन असमर्थ रहने देखिएको छ।
यति ठूलो लगानी र सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र शक्तिशाली अधिकारप्राप्त न्यायायिक समितिबाट जाँचबुझ हुनुपर्ने हानको माग छ। विज्ञप्तिमा भनिएको छ, ‘अपराधीलाई उचित क्षतिपूर्ति सहितको दण्ड हुन तथा मर्मत संभार पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल कायम राख्न तथा आर्थिक स्थायित्व तथा समृद्धि हासिल गर्दै परिवर्तनकारी नयाँ युगमा पर्यटन विकासको कार्यमा सँगसँगै अघि बढ्न होटल संघ नेपाल जोडदार माग गर्दछ।’