बोमलाल गिरी
नवलपुर, भदौ ३१ गते । गत भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनका क्रममा नवलपुरमा ५० वटा भौतिक संरचना र ४३ वटा सवारी साधनमा क्षति भएको छ ।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले दिएको जानकारी अनुसार नीजि आवास भवन २० वटा, तीन वटा पालिका र ६ वटा वडासहित नौ वटा स्थानीय तहका भवन, पार्टी कार्यालय १६ वटा, दुईवटा प्रहरी चौकी, मौलकालिका केवल कारसहित व्यवशायिक भवन दुई वटा, सामाजिक विकास कार्यालयको भवन एउटा गरी ५० वटा भवनमा आगजनी र तोडफोड भएको छ ।
त्यसैगरी ४३ वटा सवारी साधनमा आगजनी र तोडफोड भएको छ । जसमध्ये चारपांग्रे र दुई पांग्रे गरी स्थानीय तहका २१ वटा, नीजि सवारी साधन १४ वटा र आठ वटा सरकारी सवारी साधन गरी ४३ वटामा तोडफोड र आगजनी गरिएको प्रजिअ पाण्डेले जानकारी दिए । प्रदर्शनकारीले ७ वटा साइकलमा पनि आगजनी गरेका छन् ।
यो तोडफोड र आगजनीबाट कति क्षति भयो भन्ने एकिन भइसकेको छैन । प्रजिअ पाण्डेका अनुसार तोडफोडबाट भएको क्षतिको मूल्यांकन गर्नका लागि प्रदेश पूर्वाधार कार्यालयका इन्जिनियर कृष्ण आचार्यको नेतृत्वमा प्राविधिक समिति गठन गरिएको छ । पाँच सदस्सीय उक्त समितिलाई आगामी शुक्रबारसम्ममा प्रतिवेदन बुझाउन भनिएको पाण्डेले जानकारी दिए ।
हेर्नुहोस् भिडियो