बोमलाल गिरी
नवलपुर, असोज ११ गते । नवलपुर जिल्लाले दुध र अण्डामा आत्मनिर्भरता हासिल गरेको छ । माछा र मासुमा भने आन्मनिर्भरउन्मुृख देखिएको छ । जनसंख्याका आधारमा हरेक व्यक्तिलाई वार्षिक ९१ लिटर दुध आवश्यक पर्नेमा एक सय ३२ लिटर उत्पादन हुने गरेको छ ।
त्यस्तै अण्डा वार्षिक प्रतिव्यक्ति ४७ गोटा आवश्क पर्नेमा एक सय ८६ गोटा उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द नवलपुरले जनाएको छ । कार्यालयका प्रमुख डा शर्मिला कुमालका अनुसार प्रतिव्यक्ति वार्षिक १४ किलो माछा र मासु आवश्यक पर्नेमा हाल १२ दशमलव ५७ किलो उत्पादन हुने गरेको छ ।
उपलब्धता र आवश्यकताका हिसावले माछा र मासुमा झण्डै डेढ किलो अपुग रहेको डा कुमालले बताइन् । हरेक वर्ष माछा मासुको उत्पादन बढिरहेकाले माछा मासुमा पनि आत्मनिर्भर हुन धेरै समय नलाग्ने उनको भनाइ छ । तर यो वर्ष भने माछा उत्पादनमा ह्रास आएको छ ।
मत्स्यपालन व्यवशाय तुलनात्मक रुपमा व्यवस्थापन गर्न सजिलो हुने र कृषकले पनि राम्रो आयआर्जन गरिरहेको भएपनि यो वर्ष धेरै माछा पोखरीमा बाढीले असर गरेकाले तुलनात्मक रुपमा माछा कम उत्पादन भएको माछा किसान कृष्णप्रसाद गुरौले बताए ।
अघिल्लो आवमा नौ सय ४१ मेट्रिक टन माछा उत्पादन भएकोमा यो वर्ष घटेर नौ सय ६ मेट्रिक टन मात्र उत्पादन भएको मत्स्य व्यवसायी संघका अध्यक्ष इन्द्रमणि भुसालले बताए । । उनका अनुसार यहाँ वार्षिक २३ करोड रुैपयाँ बराबरको माछाको कारोावर हुने गरेको छ ।
माछा पालक किसानले भने यति ठूलो आम्दानी हुँदा पनि अझै आफूहरु समस्याबाट मुक्त हुन नसकेको गुनासो गरेका छन् । बजार व्यवस्थापन, जीवित माछा ढुवानी, सहुलियतपूर्ण ऋण र व्यवसायिक सीपको अभावका कारण धेरै कठिनाइ भोग्नु परेको कावासोती–१३ का माछा पालक किसान भुपराज श्रेष्ठले गुनासो गरे ।
माछा पालनका लागि नवलपर गण्डकीकै उत्कृष्ण जिल्ला पर्छ । मत्स्य पालन र पोखरी सबैभन्दा बढी भएको जिल्ला पनि नवलपुर नै हो । यहाँ १८ सय ४ रोपनी जलासय क्षेत्रमा १५ सय ७४ वटा माछा पोखरी रहेको पशु सेवा विज्ञ केन्दले जनाएको छ ।
संघका अध्यक्ष इन्द्रमणि भुसालले माछा पालक किसानहरूको जीवनस्तर उकास्न राज्यबाट पर्याप्त सहयोग नभएकै कारण समस्या समाधानमा ढिलाइ भएको बताए । उनले भने, “हामीसँग उत्पादन गर्ने क्षमता छ, तर पूँजीको कमी, व्यवसायिक सीप र भारतबाट आयात हुने गुणसतरहित माछाका कारण समस्या भएको छ । राज्यले यी समस्या समाधान गर्ने हो भने माछामा आत्मनिर्भर हुन र कृषकलाइृ कर्मा गर्न समस्या हुन्न ।’’
भेटनरी अस्पताल तथा पशु सेवा सेवा केन्द्रकी प्रमुख डा. कुमालले किसानका लागि तालिम तथा राहत वितरण हुँदै आएको र आगामी दिनमा क्वारेन्टाइन व्यवस्थापन र बजार अनुगमनलाई अझ प्रभावकारी बनाउन कार्यालय लागि पर्ने बताइन् ।
उनले भारतबाट मरेको माछालाई प्याक गरेर ल्याउने गरेको, स्वास्थ्यका लागि हानिकारण फर्मालिन केमिकल हालिएको माछा आउने भएकाले केही महंगो परेपनि नेपाली माछा प्रयोग गर्न आग्रह गरिन् । यहाँ उत्पादित माछा जिल्लाभित्र मात्र नभई चितवन, रुपन्देही हुँदै काठमाडौं उपत्यकासम्म आपूर्ति हुदै आईरहेको छ ।