बोमलाल गिरी
नवलपुर, असोज ३० गते । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरमा २५ वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्ज अन्तर्गत नवलपुरको अमलटारी सेक्टरको बाँदरझुला क्षेत्रमा २५ वर्षको गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
दलदलमा फसेर मरेको गैंडाको खाग र खुर सुरक्षित रहेको उनले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्षमा मरेको यो चौथो गैँडा हो । गत आर्थिक वर्षमा यहाँ २८ वटा गैँडा मरेका थिए ।
प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढे पनि झण्डै दुई वर्षदेखि चोरी सिकारीको निसानामा परेका छैनन् । अन्तिम पटक २०८० कार्तिक ३० गते चितवन राष्ट्रिय निकुञ्नको पुर्वी सेक्टर अन्तर्गतको चपरचुली क्षेत्रमा खाडलमा पारेर तस्करले दुइवटा गैँडा मारेका थिए । त्यसयता प्राकृतिक कारणले गैँडा मरे पनि तस्करको निसानाबाट जोगिदैँ आएका सूचना अधिकारी थापा मगरले बताए ।
पछिल्लो गणनाअनुसार नेपालमा ७ सय ५२ वटा गैँडा रहेका छन् । यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९५ वटा गैँडा रहेका छन् । त्यसबाहेक पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा आरक्षमा पनि गैँडा रहेका छन् ।