बोमलाल गिरी
नवलपुर, साउन १२ गते । नवलपुरको सरकारी अस्पताल मध्यविन्दु प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक ओपीडी सेवा बन्द गरेर नीजि अस्पतालमा व्यस्त भएको पाइएको छ । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दको घोषणा गरेको थियो ।
सोहीअनुसार मध्यविन्दु प्रादेशिक अस्पतालको ओपीडी सेवा पनि बन्द गरेका चिकित्सकहरु नीजि अस्पतालमा भने व्यस्त देखिएका थिए । मध्यविन्दुमा कार्यरत चिकित्सकहरुले अस्पताल समयमै डण्डाको कावासोती हस्पिटल, कावासोतीको कालिगण्डकी अस्पताल, नवलपुर लगायतका अस्पतालमा कार्यरत रहेका ती अस्पताल प्रशासनले जनाएका छन् ।
दिउँसो एक बजेको समयमा मध्यविन्दु अस्पतालमा कार्यरत चिकित्सकले केही बिरामीको उपचार गरिसकेको र अरु बेला बिरामी आएमा फोन गरेर बोलाउँदा तत्कालै उपस्थित हुने बताएको अस्पताल प्रशासनको भनाइ छ ।
मध्यविन्दुमा आज सेवा बन्द भएकाले त्यहाँका चिकित्सक कालिगण्डकी अस्पतालमा भेटिने बताएकाले आफू यहाँ आएको एक बिरामीले बताए । ती चिकित्सकले नवलपुरमा समेत सेवा दिइरहेको नवलपुर अस्पताल प्रशसनको भनाइ छ । यसरी सरकारी अस्पतालमा सेवा गरिरहेका चिकित्सकहरुलाई नीजि अस्पतालले बिरामीको चाप हेरेर फोन गरी बोलाउने गरेमा तत्काल उपस्थित हुने गरेका छन् ।
छानविन गरी कारवाही गर्ने अस्पताल प्रशासनको चेतावनी
मध्यविन्दु प्रादेशिक अस्पताल प्रशासनले भने यसरी कार्यालय समयमा अन्य नीजि अस्पतालमा गएर सेवा दिने चिकित्सकमाथि छानविन गरी कारवाही गर्ने चेतावनी दिएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा स्मिता न्यौपानेले कुनै पनि हालतमा बाहिर गएर नीजि अस्पतालमा काम गर्न नपाउने बताउनुभयो । उहाँले यस विषयमा अस्पताल प्रशासनले छानविन गर्ने र कार्यलय समयमै नीजि अस्पतालमा गएर काम गरेको पाइएमा कारवाही गर्ने प्रतिवद्धता जनाउनुभयो ।
आफूले आज बिहानको कन्फ्रेन्समा नै सरकारीमा काम नगर्ने भनेपछि बाहिर गएर अरु अस्पतालमा पनि काम गर्न नपाउने बताएको जानकारी दिनुभयो । डा न्यौपानेले चिकित्सकहरु हड्तालमा रहेकाले ओपीडी सेवा सञ्चालन गर्ने कि नगर्ने भनेर छलफल गरेको र ओपीडी बाहेकका सेवा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । ओपीडी सेवा बन्द भएपछि सधै बिरामीको खचाकच हुने मध्यविन्दु प्रादेशिक अस्पताल आज भने सुनसान थियो ।









