नवलपुरमा शव भेटिने क्रम बढ्दै

नवलपुर, भदौ ११ गते । भोटेकोशी बाढीले बगाएर ल्याएका २६ वटा शव नारायणी नदीको पश्चिमी किनारा र यसका विभिन्न भङ्गालाहरूमा फेला परेका छन् । प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायका अनुसार १२ पुरुष, ३ महिला, ४ बालिका र एक बालक तथा ६ वटा विभिन्न फरक फरक अंग भेटिएका हुन् ।

ती सबै शवलाई नगर अस्पताल गैँडाकोटमा राखिएको र सबै शवको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानै विभिन्न स्थानमा आठ–नौ वटा शव फेला परेको स्थानीयबाट खवर आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । त्यसका लागि प्रहरी टोली परिचालन गर्न लागिएको उनको भनाइ छ ।

शव भेटिने क्रम आज दिनभरीमा अझै बढी हुने आँकलनका साथ बिहानैदेखि खोज तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए । स्थानीय प्रशासनले शव व्यवस्थापनको काम कठिन हुने बताएको छ । गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दुका चारवटा नगर १०–१० वटा शव राख्न सकिने गरि तयारी गरिएको छ ।

‘‘सबैभन्दा जटिल काम शव व्यवस्थापन हुने देखिएको छ,’’ प्रहरी उपरीक्षक खड्काले भने, त्यसका लागि अहिले हामी बैठक बस्दै छौं’’ प्रहरीले कतौ शव देखिएमा तत्काल खवर गर्न स्थानीयलाई अनुरोध गरेको छ ।