नवलपुरमा शव भेटिने क्रम बढ्दै

बोमलाल गिरी
नवलपुर, भदौ ११ गते । भोटेकोशी बाढीले बगाएर ल्याएका ३१ वटा शव र मानव अंग नारायणी नदीको तटीय क्षेत्रमा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार १४ पुरुष, ६ महिला, ४ बालिका र एक बालक तथा ६ वटा मानव अंग भेटिएका हुन् ।

गैँडाकोट नगरपालिकामा २६, देवचुलीमा तीन र मध्यविन्दु नगरपालिकामा दुईवटा शव भेटिएको हो । भेटिएका शवमध्ये २६ वटा गैँडाकोट नगर अस्पताल राखिएको छ भने पाँचवटा शव नारायणी नदी किनारमै रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

भेटिएका कुनै पनि शवको पहिचान खुल्न नसकेको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले बिहानैदेखि शव संकलनको कामलाई तिब्रता दिएको जनाएको छ । त्यसका लागि प्रहरी टोली परिचालन गरिएएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

शव भेटिने क्रम आज दिनभरीमा अझै बढी हुने आँकलनका साथ प्रहरी परिचालन गरिएको खड्काले बताए । स्थानीय प्रशासनले शव व्यवस्थापनको काम कठिन हुने बताएको छ ।

यसबारेमा जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय जनप्रतिनिधि, रेडक्रस लगायत सरोकारवाला निकायसँग गरेको छ । प्रहरीले कतै शव देखिएमा तत्काल खवर गर्न स्थानीयलाई अनुरोध पनि गरेको छ ।