बोमलाल गिरी
नवलपुर, असोज २१ गते । जेन जी आन्दोलनपछि विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा नेपाली कांग्रेस नवलपुर दुई भागमा विभाजित भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा नियमित महाधिवेशन पनि सकेसम्म पर धकेन्ने पक्षमा देखिएपछि महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा निर्धारित मितिमै नियमित महाधिवेशन गर्नु पर्ने अन्यथा विशेष महाधिवेशन गरेर नेतृत्व पुस्तान्तरण गर्नु पर्ने पक्षमा देखिएका हुन् । सोही अनुसार नवलपुरमा पनि कांग्रेस नेताहरु दुई भागमा विभाजित भएका हुन् ।
आगामी मंसिर भित्र नियमित महाधिवेशन गर्नु पर्ने हुन्छ । विशेष महाधिवेशनले पार्टीलाई झनै कमजोर बनाउने संस्थापन पक्षका नेताहरको तर्क छ भने इतर पक्षले यो पार्टीको विधान अनुसार नै हुने भएकाले पार्टीलाई कमजोर नबनाउने तर्क गरिरहेका छन् ।
आफूलाई परिवर्तनशिल ठान्ने थापा शर्मा पक्षले तत्काल विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान पनि सञ्चालन गरिरहेको छ । जिल्लामा यो समूहले नवलपुर क्षेत्र नम्बर १ मा ६० प्रतिशत हस्ताक्षर संकलन गरी दुई महामन्त्रीको सम्पर्क कार्यालय काठमाडौमा बुझाईसकेको यो समूहका एक नेताले बताए ।
उनका अनुसार हस्ताक्षर गर्ने नेताहरुको नाम गोप्य राखिएको छ । त्यसैगरी क्षेत्र नम्बर २ मा पनि एकै पटक ७०/७५ प्रतिशत पुर्याउने गरी काम भइरहेको ती नेताको भनाइ छ । जिल्लामा एक नम्बर निर्वाचन क्षेत्रमा २५ र दुई नम्बरमा २५ गरी ५० जना महाधिवेशन प्रतिनिधि छन् ।
कांग्रेस महामन्त्री शर्माले एक भिडियो सन्देश जारी गर्दै विशेष महाधिवेशन चाहनेहरुले २४ गतेभित्र हस्ताक्षर गरिसक्नु पर्ने बताएका छन् । कांग्रेस विधानअनुसार केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन बोलाउन सक्ने र महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतले हस्ताक्षर गरेर बुझाएमा पनि विशेष महाधिवेशन गर्नु पर्ने प्राब्धान छ ।
नवलपुरमा संसथापन पक्षको नेतृत्व पार्टी जिल्ला सभापति महेन्द्रध्वज जिसीले र इतर समूहको नेतृत्व जिल्ला उपसभापति बालकृष्ण घिमिरेले गरिरहेको कांग्रेस कार्यकर्ता बताउँछन् । जिल्लाका धेरै नेताहरले विशेष महाधिवेशन चाहेपछि जिल्ला सभापति जिसीले २३ गतेका लागि महासमिति भेला बोलाएका छन् ।
‘जिल्लाको सिनारियो अझै स्पष्ट छैन, बिहिबार महासमिति भेला बोलाएको छु,’ जिसीले भने, ‘त्यो भेलाबाट हामी उउटा सामुहिक निर्णय गरेर जान्छौं ।’