पुस ५ देखि ११ दिनसम्म प्रथम कावासोती गोल्डकप प्रतियोगिता हुने (भिडियो)

नवलपुर, पुस १ गते । नवलपुरमा आगामी पुस ५ गतेदेखि प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सनलाइट सामुदायिक विकास केन्द्रको आयोजनामा कावासोती–१६ डण्डाको मैदानमा हुने प्रतियोगिता ११ दिनसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष तेज नारायण अर्यालले जानकारी दिए ।

प्रतियोगितामा दुई विदेशीसहित देशभरका उत्कृष्ट १२ टिमको सहभागिता रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रथम हुने टिमले नगद तीन लाख, ट्रफी र प्रमाण पत्र, दोस्रो हुनेले नगद एक लाख ५० हजार, ट्रफी र प्रमाण पत्र तथा तृतीय स्थान हाँसिल गर्ने टिमले नगद ७५ हजार रपियाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष अर्यालले जानकारी दिए ।

साथै प्रतियोगितामा उत्कृष्ट, गोलकर्ता, गोलकिपर, मिडफिल्डरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कावासोती गोल्डकप खेल्नका लागि नाइजेरियाको टिम जस्ट जोन एपसी, भारत कोलकताको एभीएफसी, कावासोतीका दुई सथानीय क्लवसहित विभिन्न जिल्लाका क्लवको नाम निश्चित भएको अर्यालले जानकारी दिए ।

नगर भित्रका प्रतिभावान खेलाडिलाई उचित मञ्च प्रदान गर्न, खेलमार्फत सकारात्मक उर्जा, स्वास्थ्य जीवनशैली, नेतृत्व क्षमता र अनुशासन अभिबृद्धि गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्नका लागि १७ लाखभन्दा बढी रकम खर्च हुने आर्थिक व्यवस्थापन समितिका संयोजक तेज बहादुर केसीले जानकारी दिए । कावासोती नगरपालिकाले ६ लाख ५० हजार सहयोग गरेको छ भने पालिका भित्रका विभिन्न वडाहरुले पनि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका केसीले बताए । बाँकी नपुग रकम आयोजक संस्थाले नै व्यहोर्नेछ ।

प्रतियोगितामा अरु के के हुन्छ ? हेर्नुहोस् भिडियो