बोमलाल गिरी
नवलपुर, चैत २६ गते । के तपाईंको छोराछोरीले घरमा कसैको कुरा नसुन्ने, नगर भनेको काम गरिहाल्ने, एक्लै बस्न रुचाउने, विद्यालय जान नमान्ने, मोबाइल धेरै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गरेको देख्नु भएको छ ? छ भने आजैदेखि ख्याल गर्नुहोस्, यो मोवाइलको लत हुन सक्छ र त्यो लत छुटाउन सुधार केन्द्रमा पठाउन पर्ने पनि हुन सक्छ ।
नवलपुरको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रदेश जनस्वास्थ्य कार्यालय, मध्यविन्दु प्रादेशिक अस्पताल लगायतले जिल्लाका सुधार गृहहरू (रिह्या सेन्टरहरू) मा गरेको अनुगमनमा अभिभावकले मोवाइलको लत छुटाउन आफ्ना सन्तानलाई सुधार गृहमा लगेर राखेको पाइएको हो ।
जिल्लामा रहेका नौवटा सुधार गृहमध्ये अधिकांशमा यस्तै समस्या भएका बालकहरुलाई राखेको पाइएको प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंले जानकारी दिए । ‘‘१२ देखि १८ वर्ष उमेर समुहका थुप्रै बालकहरुलाई सुधार गृहमा लगेर राखेको पाइयो,’’ चापागाईले भने, ‘‘सानो उमेरका धेरै बच्चाहरूमा मोवाइलको लत रहेको देखिन्छ भने केही लागू औषध र मादक पदार्थ सेवन प्रयोगकर्ताहरू पनि भेटिए ।’’
धेरै जना लामो समय बसेर निको भएर घर फर्किसकेका कारण हाल जिल्लाभर कति जना बालक सुधार गृहमा छन् भन्ने तथ्यांक नभए पनि यसले समुदायमा यस्तो समस्या भएका बालबालिका धेरै भएको हुन सक्ने संकेत गरेको उनको भनाइ छ । केही समय अघि गैँडाकोटका एक बालक एसईईको परीक्षामा लेख्दा लेख्दै मोवाइल हेर्ने रहरले परीक्षा नै छोडेर घर आएपछि सुधार गृहमा राखेको चापागाईंले सुनाए ।
कावासोती–१० चिलाहामा रहेको सफलता पुर्नस्थापना केन्द्रका सञ्चालक मदन दराइले २०७८ सालमा स्थापना भएको यो केन्द्रले अहिलेसम्म मोवाइलको लत लागेका दुई सयभन्दा बढी बालकलाई उपचार गरेर घर पठाएको बताए ।
‘‘हाम्रो ६ महिनाको कोर्ष हुन्छ, कतिपय तीन महिनामै ठिक भएर पनि गएका छन् भने कसैलाई पुरै अवधि पनि राख्नु परेको छ, कतिपय त फेरी फर्केर पनि आउँने गरेका छन्’’ उनले भने ।
कावासोती–९ मा रहेको निर्णय फर चेन्ज नामक सुधार केन्द्रमा रहेका एक १२ वर्षीय बालक घर बस्दा मोवाइल हेरिरहने बानीले विद्यालय जानै नसक्ने भएपछि तीन महिनादेखि यहिँ बसिरहेका छन् । अहिले उनी यहिँबाटै विद्यालय आउजाउ गर्ने गरेको सुधार केन्द्रका सञ्चालक दिपेन्द्र प्रजापतिले बताए ।
यस्तै समस्याले कक्षा ११ मा पढ्ने दुई जना १७ वर्षका र एक १३ वर्षिय बालक कावासोतीकै प्रार्थना नेपाल पुर्नस्थापना केन्द्रमा तीन महिनादेखि बसिरहेका सञ्चालक प्रकाश पुलामीले बताए । बालबालिकामा अत्यावधिक मोवाइल हेर्ने बानीले लत लागेर सुधार गृहमा जानु पर्ने समस्या बढिरहेको सञ्चालकहरुले बताएका छन् ।
बालबालिकालाई भुलाउन मोबाइल चलाउन दिँदा उनीहरू विस्तारै गेम खेल्ने र गेममा हार्दा आक्रामण हुने, झनक्क रिसाउने, मोवाइल, ट्यावमा ठोक्ने र कहिलेकाँही हिंसात्मक हुने गरेकाले सुधार केन्द्रमा हाल्नु परेको अनुगमनका क्रममा पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए ।
मोबाइल ‘प्रयोग गर्न जाने फलिफाप, दुरुपयोग गरे अभिशाप’ हुने भएकाले अभिभावकको निगरानी आवश्यक रहेको बताउँछन्, प्रार्थना नेपाल पुर्नस्थापना केन्द्रका मनोपरामर्शदाता एवं समाजशास्त्री करुण लम्साल ।
सुधार केन्द्रमा बसेर सुधारिएर आउनेहरुलाई समाजले हेर्ने दृष्टिकोण नै गलत भएकाले त्यो सोच बदल्नु पर्ने उनको भनाइ छ । ‘‘सुधार केन्द्रमा बसेर आउनुलाई अपराध गरेर आएको भन्ने बुझाइ रहेको पाइन्छ, त्यो गलत हो,’’ लम्सालले भने, ‘‘त्यो अपराध होइन, दुव्र्यसनका अगाडि शक्तिहिन भएका हुन्, पुर्नस्थापना केन्द्रलाई जेलको रुपमा हेर्ने दृष्टिकोण छ, त्यसलाई हटाउनुपर्छ ।’’
बालबालिकाहरु गलत संगतले, मानसिक, सामाजिक कारणले दुव्र्यसनमा फस्न सक्ने भएकाले उपचार पाउने उसको नैसर्गिक अधिकार भएको लम्सालको भनाइ छ । बाल्यकालमा दुव्र्यसनमा पर्नु देखासिकी मुख्य कारण रहेकोले अभिभावक सबैभन्दा बढी सचेत र जिम्मेवार हुनु पर्ने लम्सालको सुझाव छ ।









