ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक सञ्जालमा ‘भिडियोकल’ गरी आफू मर्न लागेको भनेर बताइन्। श्रीमान्ले हस्याङ्फस्याङ गर्दै उक्त कुरा जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरेर जानकारी गराए।
परिसरले तत्कालै प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायब उपरीक्षक शिला थापाको कमान्डमा टोली खटायो। खोजतलास गर्दा ती महिला सुनाकोठी जङ्गलमा भेटिइन् र उद्धार भयो। सुन्दा एउटा चलचित्रको कहानी जस्तै लाग्ने यो घटना वास्तविक हो।
समयमा सूचना प्राप्त हुँदा महिलाको सम्भावित अकल्पनीय घटना हुनबाट जोगिएको छ। ती महिलाले मर्न लागेको भनेर परिवारमा भिडियोकल गरेपछि प्रहरीको सक्रियतामा सकुशल उद्धार गरिएको ललितपुर प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले भने, “क्विक रेस्पोन्स (छिटो प्रतिक्रिया) हुँदा महिलाको सकुशल उद्धार सफल भएको हो, हाम्रो टोलीले भेट्दा उनी डोरी बोकेर जङ्गल जाँदै थिइन्, मोबाइल लोकेसन पच्छ्याउँदै जाँदा फेला परिन्।” उनले पारिवारिक कलहका कारण उक्त घटना भएको बताए।









