नवलपुर, बैशाख १४ गते । सिकार खेल्ने क्रममा बन्दुकको छर्राले लागेर नवलपुरमा एक जना घाइते भएका भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउपालिका–४ सिलौटेस्थित सूर्यविनायक सामुदायिक वनमा सिकार खेल्ने क्रममा गए राति एक जना घाइते भएका हुन् ।
घाइते हुनेमा पाल्पा निस्दी गाउँपालिका–७ देवकी घर भई हाल विनयी त्रिवेणी–३ कटुसघारी बस्ने २८ वर्षीय खिम बहादुर राक्से मगर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।
मगरको पेटको वायाँ तर्फ दुई वटा प्वाल परेको अवस्था मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार हुन नसकेपछि थप उपचारका लागि सेन्ट्रल अस्पताल भरतपुर रिफर गरिएको पण्डिटले जानकारी दिनुभयो ।
घटनामा प्रहरीले दुई नाल भरुवा बन्दुकसहित नौ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ पर्नेमा विनयी त्रिवेणी–३ सिद्रेका २८ वर्षीय दिल बहादुर सारु मगर, कटुसघारीका १७ वर्षीय गणेश सारु मगर, पाल्पा निस्दी गाउँपालिका–७ का ३३ वर्षीय कृष्ण बहादुर राक्से र सोही ठाउँका २० वर्षीय तारा बहादुर आले रहेका प्रहरी उपरीक्षक पण्डितले जानकारी दिनुभयो ।
त्यस्तै विनयी त्रिवेणी–४ सिद्रेका ४५ वर्षीय दान बहादुर वयम्बु, ४२ वर्षीय दिल बहादुर बयम्बु, खयरघारीका ४३ वर्षीय धन बहादुर सुनार, कटुसघारीका २१ वर्षीय अबिनाश चौधरी र ५६ वर्षका बल बहादुर राना मगर रहेका पण्डिले जानकारी दिनुभयो । पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









