नवलपुरमा अपराधका घटना बढ्दै, दोषी उम्कदै

नवलपुर, बैशाख १३ गते । गतवर्ष फागुन १३ गते गैँडाकोट–२ शान्तिनगरमा डेरा गरी बसिरहेकी गुल्मीको मुसिकोट–९ की २४ वर्षीया बबिता सापकोटाको धारिलो हतियार प्रहार गरी विभत्स तरिकाले हत्या भयो । हत्यापछि उनको कोठाबाहिरबाट ताला लगाइएको थियो ।

खाना खाई घरमा सुतिरहेको अवस्थामा गत चैत २३ गते नवलपुरको देवचुली–१६ टाँगिकोटका ७५ वर्षीय जीवनराम थनेको हत्या भयो । उनकी ७० वर्षीया श्रीमती गुलबसिनिया थनेत गम्भीर घाइते भइन् । यस विषयमाा प्रतिनिधि सभामा समेत कुरा उठ्यो ।

बैशाख ११ गते शुक्रबार गैँडाकोट नगरपालिका–९ धबाह ताल नजिकैको जंगलमा अन्दाजी १५/१६ वर्षीया युवतीको शव भेटियो । युवतीको अहिलेसम्म पहिचान खुलेको छैन । शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो घटनालाई पनि प्रहरीले हत्या भएको आशंका गरेको छ । घटनास्थलमा आफै खटिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले भने, ‘‘जंगलमा एक जवान युवतीको शव भेटिनु र घटनाको प्रकृति हेर्दा हत्या भएको आशंका गरिएको छ, तर शवको पहिचान नखुलेको र पोष्टमार्टम रिपोर्ट पनि आइनसकेकाले निश्चिन्तका साथ भन्न सकिन्न ।’’

यसरी जिल्लामा हत्याका घटना भइरहँदा पनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्का विशेष टोलि परिचालन गरी अनुसन्धान भइरहेको र दोषी पत्ता लगाउने प्रयासको नजिक पुगेको बताउँछन् । ‘‘हामी विशेष टोली परिचालन गरी अनुसन्धान गरिरहेका छौं, परिणाम नआइकन कति सफल भइयो भन्न सकिन्न,’’ खड्काले भने।

यसरी हत्याका घटना बढिरहँदा पनि दोषी पत्ता लाग्न नसक्दा समाजमा त्रास बसेको स्थानीयको भनाइ छ । प्रतिनिधि सभा सदस्य राजन गौतम आफ्नै वडामा बृद्ध श्रीमान श्रीमती माथि आक्रमण हुँदा पनि दोषी पत्ता लगाउन प्रहरी सफल नहुँदा त्रास थप बढेको भन्दै प्रहरीलाई छिटो निष्कर्षमा पुर्याउन आग्रह गर्छन् ।

‘‘मैले प्रहरी प्रमुखलाई निरन्तर आग्रह गरिरहेको छु, उहाँले हामी अनुसन्धान गरिरहेका छौं भन्नुहुन्छ,’’ सांसद गौतमले भने, ‘‘आशा गरौं प्रहरीले छिटो दोषी पत्ता लगाउन सफल हुनेछ ।’’