स्ट्रेट अफ हर्मुज पुनः खोल्न र युद्ध अन्त्य गर्न अमेरिकालाई इरानको नयाँ प्रस्ताव

इरानले स्ट्रेट अफ हर्मुज पुनः खोल्न र युद्ध अन्त्य गर्न अमेरिकालाई नयाँ प्रस्ताव गरेको छ। अहिलेलाई हर्मुज खोलेर युद्ध अन्त्य गर्ने र आणविक हतियार सम्बन्धी वार्ता पछि गर्न इरानले प्रस्ताव गरेको भनेर एक अमेरिकी अधिकारी र अरू दुई स्रोतहरूको हवाला दिंदै अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।

अहिले आणविक विषयमा कस्तो सम्झौता गर्ने भन्नेबारे इरानी नेतृत्व विभाजित भएकाले वार्ता अघि बढ्न सकेको छैन। त्यसैले सो मुद्दालाई पछिका लागि थाति राख्न इरानले प्रस्ताव गरेको देखिन्छ। तर अहिले नै हर्मुज खोले आणविक हतियार सम्बन्धी वार्तामा इरानमाथि दबाब हाल्न नसकिने भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो प्रस्ताव नमान्ने देखिन्छ।

इरानले युद्धको सुरूदेखि नै आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग ुस्ट्रेट अफ हर्मुजु बन्द गरेको छ। यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ।

त्यो बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। फलस्वरूप विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव परेको छ। सुरूमा इरानले मात्रै हर्मुज बन्द गरेको थियो।

अरूका पानी जहाज रोके पनि इरानी तेल बोकेका जहाजहरू चलिरहेका थिए। अरू देशका केही जहाजलाई पनि महङ्गो शुल्क लिएर इरानले छोडिरहेको थियो। यस कारण इरानले युद्ध सुरू भएको बेला भन्दा धेरै आम्दानी गरिरहेको थियो। त्यसैले पछिल्लो समयमा अमेरिकाले पनि हर्मुजमा इरानमाथि नाकाबन्दी लगाएको छ।