टिप्पर दुर्घटना हुँदा नवलपुरमा तीन जना गम्भीर घाइते

नवलपुर, बैशाख १६ गते । चुनढुङगा लोड गरेको टिप्पर नवलपुरमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–५ खाम्चास्थित भित्री सडकखण्डमा सर्बोत्तम सिमेन्टको खानीदेखि पश्चिम परासीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ख ८७२१ नम्बरको टिप्पर अनियन्त्रित भई सडकबाट अन्दाजी ७० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा टिप्पर चालक रुपन्देहीको तिलोतामा नगरपालिकाका ४७ वर्षीय बाबुराज भट्टराई, पाल्पा माछागडी गाउँपालिका–७ मटेरीका ३५ वर्षीय कुल बहादुर ढेगा र बिनयी त्रिवेणी–५ चिडीयाका २६ वर्षीय टोप बहादुर राना घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

घाइतेहरुलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि चितवनको भरतपुर पठाएको पण्डितले बताए ।