जग्गा नापजाँच गरि तत्काल पुर्जा वितरण गर्न माग गर्दै आयोगलाई लामिचौरको ज्ञापनपत्र

कावासोती । जग्गा नापजाँच गरि तत्काल पुर्जा वितरणको काम अगाडी बढाउन माग गर्दै भुमि सम्बन्धि समस्या समाधान आयोग नवलपुरलाई लामिचौर उपभोक्ता समितिले ज्ञापनपत्र बुझाएको छ ।

बुधबार लामिचौर उपभोक्ता समितिका अध्यक्ष लेखनाथ दवाडीको नेतृत्वको टोलीले भुमि सम्बन्धि समस्या समाधान आयोग नवलपुरका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो ।

लामिचौरले बुझाएको ज्ञापनपत्रमा वर्षौ देखि बसोबास गर्दै आएका भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासोको पुर्जा वितरण गर्ने कार्यमा भुमि ऐनले कुनै पनि रोक नलगाएको अवस्थामा हाल सम्म पनि यस क्षेत्रमा भुमि नाँप, जाँच नगराइएकोमा लामिचौर उपभोक्ता समितिको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ ।

ज्ञापनपत्रमा यथाशीघ्र कार्यविधि अनुसार भुमिहिनको जग्गाहरुको लागत संकलन नापजाँच, लालपुर्जा हस्तन्तरण कार्य अघि बढाउन माग गरिएको छ । लामिचौर उपभोक्ता समिति अन्तर्गत कावासोती नगरपालिकाको वडा नं ७, १०, ११ं १२ र १३ नं वडा पर्दछ्न ।