नवलपुर, बैशाख १५ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको चोरमारा सडक खण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मध्यबिन्दु नगरपालिका–७ स्थित हरियाली जंगलमा ट्रक र कार एकआपसमा ठोक्किँदा कार चालक पोखरा महानगरपालिका–२६ का ३३ वर्षीय दिपु गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु १ ख ९५८० नम्बरको चामल लोड भएको ट्रक र विपरीत दिशामा गुडिरहेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका कार चालक गुरुङको उपचारको क्रममा मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
ठक्कर दिने ट्रक र चालक रुपन्देहीको सेहरी गाउँपालिकाका–१ का ४४ वर्षीय महेन्द्र कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तिव्र गतिका कारण सवारी दुर्घटना भएको नवलपुर प्रहरीको भनाइ छ ।









