विदेशमा बसेर उपचार गर्न प्राकृतिक चिकित्सालय रजहरमा (भिडियो)

बोमलाल गिरी
नवलपुर, बैशाख १५ गते । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले नेपालको अगुवाईमा संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गर्यो र नेपालकै अगुवाईमा यसै वर्षदेखि अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रम गरी मनाइयो ।

यसले नेपालको मौलिक चिकिस्सा, योग र प्राकृतिक चिकित्सा पद्दतीलाई संसारले अंगालेको सन्देश दिन्छ । प्राकृतिक चिकित्साले रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने निवारणमुखी उपाय, स्वस्थ जीवनशैली र मानिस केन्द्रित स्वास्थ्य प्रणालीमार्फत जीवन रक्षा, स्वास्थ्य खर्च न्यूनीकरण तथा रोकथामयोग्य रोग नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ ।

त्यसैले नवलपुरको प्राकृतिक चिकित्सालयमा विश्वका विभिन्न अस्पतालहरुमा उपचार गराएर निको नभई थाकेका बिरामीहरुको भिड लाग्न थालेको छ । काठमाडौंका ६५ वर्षीय कृष्णराज तिवारी अमेरिकाको टेक्सासमा हृदयघात भएर तीन वर्षसम्म थला परे । ६ महिना अस्पतालमै बित्यो । खर्चको त लेखाजोखा नै छैन ।

‘‘ह्वील चेयरमा आएको थिए, तीन चार दिनमै हिड्न सक्ने भएँ, मैले कल्पना पनि गरेको थिएन, मेरो अवस्थामा यसरी चमत्कारिक सुधार हुन्छ भनेर ।’’ एक महिना उपचार गरेर निको भई घर हिड्नै थाल्नु भएका तिवारीले भने ।

अमेरिकामा हुँदा प्राकृतिक चिकित्साका बारेमा सुनेको र उपचारका लागि काठमाडौं आएर चार दिनमै रजहर आएको उनकी श्रमिती शारदा तिवारीले बतायन् । ‘‘हृदयघातपछि एकहर नचल्ने भएको थियो, अमेरिकामा ६ महिनाको उपचारबाट पनि कुनै सुधार भएन, शौचालय जान पनि कसैको सहारा चाहिन्थ्यो,’’ शारदाले भनिन्, ‘‘यहाँ ल्याएपछि छोटो समयमै नसोचेको सुधार भयो, हामी धेरै खुशी छौं ।’’

२० वर्षदेखि अमेरिकाको क्यालिफोर्नीयामा बस्दै आएकी ९० किलो वजन भएकी संगिता उप्रेतीलाई कोलेस्टोर अत्याधिक बढेपछि चिकित्सकले कुनै पनि बेला हृदयघात, बे्रेन ह्याम्रेज वा स्ट्रोक हुन सक्ने चेतावनी दिएका थिए । त्यसमाथि पिनासको समस्या थियो । उनी उपचारकै लागि भनेर आत्तिदै नेपाल आएर प्राकृतिक चिकित्सालयमा भर्ना भइन् ।

‘‘कोलेस्टोर बसेर ३२० पुगेको थियो, म अति नै आत्तिएकी थिए, यहाँ आएर उपचार सुरु गरेको ९ दिनमै कोलेस्टोर घटेर २७० पुग्यो,’’ उत्साहित हुँदै संगिताले भनिन्, ‘‘यति छिटो यति ठूलो परिवर्तन, जुन मैले सोचेकी पनि थिइन ।’’

अमेरिकामा डाक्टरको समय पाउन, फ्लोअपका लागि डाक्टर पाउन निक्कै समस्या भोग्नु परेको उनको भनाइ छ । त्यसबाहेक विदेशको खर्चलाई यहाँको खर्चसँग तुलना गर्नै नसुहाउने भन्दै संगिताले विदेशमा उपचारका लागि भौतारि रहेकाहरुलाई एक पटक यहाँ आएर उपचार गर्न सुझाव दिइन् ।

प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिनाऔषधी माटो, पानी, हावा, अग्नि र जडीबुटी तथा वैज्ञानिक मालिस अकुपन्चर, फिजियोथेरापी, योग र ध्यान पद्धतिद्वारा उपचार गर्नु यहाँको विशेषता हो । ‘रोग अनेक, उपचार एक तथा आहार नै औषधी, औषधी नै आहार’ भन्ने मूल मन्त्रका साथ २०६८ सालमा स्थापित यो चिकित्सालय अहिले देशकै नमुना बनेको छ ।

जहाँ हालसम्म मुलुकको उच्च ओहोदामा पुगेका सयौँ व्यक्तिले उपचार गराइसकेका चिकित्सालयका महाप्रवन्धक हरि सापकोटाले बताए । उनका अनुसार पछिल्लो समय विदेशमा उपचार गराएर निको नभएकाहरुको यहाँ भिड लाग्ने गरेको छ । अहिले अमेरिका, अष्ट्रेलिया, बेलायत, थाइल्याण्ड, ब्राजिल लगायत देशका नागरिक उपचारका लागि आएको सापकोटाले बताए ।

‘‘प्रकृतिक चिकित्साको प्रभाव परेकाले दक्षिण एशियाबाट यहाँ आउनुलाई हामी सामान्य रुपमा लिन्छौं,’’ सापकोटाले भने, ‘‘श्रीलंकाबाट स्वासथ्य मन्त्रालय र चिकित्सकको टिम प्राकृतिक चिकित्सा र योगसँग कसरी समन्वय गर्न सकिन्छ भनेर अध्ययन गर्न नेपाल आएको छ, यसले पनि देखाउँछ यो उपचार पद्दतीको आकर्षण बन्दैछ र विश्वव्यापी हुँदैछ ।’’

चिकित्सालय अव शिक्षण असपताल बन्दै
यो सामुदायिक प्राकृतिक चिकित्सालयले आगामी वर्षदेखि शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ । पोखरा विश्वविद्यालयको सम्बन्धन लिएर आगामी वर्षदेखि प्राकृतिक चिकित्सा विज्ञान अध्ययन गराउने शिक्षण अस्पताल सञ्चालनमा आउने सापकोटाले जानकारी दिए ।

आगामी शैक्षिक सत्रदेखि पोखरा विश्वविद्यालयको संयुक्त आगिंक क्याम्पसको रूपमा रहने गरि शिक्षण अस्पताल सञ्चालनको तयारी अगाडि बढाइएको उनको भनाइ छ । चिकित्सा शिक्षा आयोगको सिफारिसमा २०८२ को जेठ २८ गते नेपाल सरकारले राजपत्रमा ब्याचरल इन नेचुरोपेथी एन्ड योगा साइन्स (बिएनवाइएस) को कक्षा नेपालमा सञ्चालन गर्न पाउने सूचना प्रकाशित गरेको थियो ।

नेपालमा बिएनवाइएसको कक्षा सन्चालन गर्न पाउने व्यवस्था भएपछि चिकित्सालयले शिक्षण अस्पताल सञ्चालनको कार्यलाई तीव्रता दिएको अस्पतालका अध्यक्ष प्रदीपराज घिमिरेले जानकारी दिए । “नेपालबाट हरेक वर्ष हजारौँ विद्यार्थी प्राकृतिक चिकित्सा अध्ययन गर्न भारत जाने गर्छन्, यहाँ शिक्षण अस्पताल सुरु भयो भने प्राकृतिक चिकित्सा सम्बन्धी प्राज्ञिक जनशक्ति उत्पादन देशभित्रै हुने र पैसा बाहिर जान रोकिन्छ ।” घिमिरेले भने ।

अस्पतालले चर्चेको १० बिघा जमिन अस्पतालको नाममा नेपाल सरकारले भोगाधिकार दिइसकेको र आसपासका थप सार्वजनिक जग्गा प्राप्तिका लागि स्वास्थ्य मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइएको सापकोटाले बताए ।

यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजन गौतमले केही दिनअघि मात्र अर्थमन्त्री, शिक्षा र स्वास्थ्य मन्त्री तथा सचिव तहमा पनि एक चरण छलफल भइसकेकाले अर्को वर्षदेखि शिक्षण असपताल सञ्चालनमा आउने बताए ।