नवलपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, सरकारी कर्मचारसिहित चार जना घाइते

नवलपुर, बैशाख १५ गते । नवलपुरमा गएराति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका तीनसहित चार जना घाइते भएका छन् ।

जिल्लाको बौदीकाली गाउँपालिका–२ भोलाड चोकस्थित कालिगण्डकी करिडोरमा गएराति ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । खर्साङबाट भोलाडतर्फ जादै गरेको ग १ त ६८२७ नम्बरको ट्याक्टर र बिपरित दिशामा गुडिरहेको ग २३ प २२३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका ३३ वर्षीय रमेश खनालको उपचारको क्रममा रामपुर अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अलिन पण्डितले जानकारी दिए ।

मोटरसाइकल पछाडि सवार घाइते उनका बुवा ६० वर्षीय पुष्पराज खनालको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको पण्डिले जानकारी दिए । दुबै सवारी साधन र ट्याक्टर चालक स्थानीय १९ वर्षीय बसन्त नेपालीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै मध्यविन्दु नगरपालिका–१ ध्वजमान चोकमा कोल्हुवाबाट डण्डा तर्फ जाँदै गरेको लु २ ख ५०२४ नम्बरको तेल बोक्ने ट्याङ्करले बिपरित दिशाबाट गुडिरहेको स ६ प ७२०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका–४ का स्थायी घर भइ प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरमा ल्याव असिस्टेन्टको रुपमा कार्यरत ३६ वर्षीय खरेल प्रसाद चौधरी, उनकी श्रीमती ३४ वर्षीय निशा चौधरी र ६ वर्षकी छोरी निकी चौधरी घाइते भएको जिल्ला प्रहरी नायव उपरीक्षक पण्डितले जानकारी दिए ।

उनीहरुको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । श्रीमान श्रीमती खतरामुक्त रहेको र छोरीको शल्यक्रिया गर्नु पर्ने चिकित्सकले बताएको कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीले बताए ।

दुबै सवारी सधान र ट्याङकर चालक मध्यबिन्दु नगरपालिका–२ का ३३ वर्षीय दिनानाथ महतो थारुलाई नियन्त्रणमा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।