संघ र प्रदेशका सांसदलाई साक्षी राखेर महासंघले बुझायो ज्ञापन पत्र (भिडियोसहित)

नवलपुर, बैशाख १५ गते । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले प्रतिनिधि सभा र प्रदेश सभाका पाँच जना सांसदलाई साक्षी राखेर जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा मार्फत आठवटै पालिका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएको छ । सरकारी विज्ञापन सरकारी सञ्चार माध्यामलाई मात्र दिने केन्द्र सरकारको निर्णयको विरोध गर्दै महासंघले ज्ञापन पत्र बुझाएको हो ।

उक्त अवसरमा नवलपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु राजन गौतम र मनिष खनाल तथा प्रदेश सभाका सांसदहरु रोशन बहादुर गाहा, दमयन्ती रुचाल र विन्दु पौडेल सहभागि थिए ।

महासंघले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यामलाई मात्र दिने केन्द्र सरकारले चैत १८ गते जारी गरेको परिपत्रले प्रेस स्वतन्त्रता र नीजि सञ्चार माध्यामको अस्तित्वमाथि प्रतिकुल असर गर्ने भन्दै निर्णय फिर्ता लिन आग्रह गरेको छ । यसले सञ्चारकर्मीको पेशागत सुरक्षा मात्र नभई सञ्चार माध्यमको अस्तित्वनै संकटमा परेको महासंघका सचिव आशिष रेग्मीले बताए ।

महासंघले जिल्ला समन्वय प्रमुखमार्फत जिल्लाका सरकारी कार्यालय, सबै पालिकामार्फत प्रकाशन प्रशारण हुने सूचना, विज्ञापनमा सहजिकरण गरिदिन आग्रह गरेको छ । ज्ञापन पत्र बुझ्दै समन्वय प्रमुख विश्वकर्माले कार्यालयको तर्फबाट समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

महासंघले यसअघि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।