प्रधानन्यायाधीशमा शर्माकाे सिफारिसविरुद्ध सर्वोच्चमा रिट

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा. प्रेम सिलवालले छुट्टाछुट्टै रिट पेस गरेका हुन् । रिटमा संवैधानिक परिषद्को निर्णय यथास्थितिमा राख्न र संसदीय सुनुवाइको प्रक्रिया अघि नबढाउनु अन्तरिम आदेश माग गरिएको छ ।

संवैधानिक परिषद्को निर्णय प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत देखिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए । शक्तिपृथकीरकणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश सिफारिस भएकाले रिट दिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए। रिट दर्ता हुन बाँकी रहेको उनले जानकारी दिए।

त्यस्तै, अधिवक्ता युवराज ढकालले पनि सर्वोच्चमा रिट दिएका छन्। उनले पनि प्रधानन्यायाधीशमा शर्मालाई गरिएको सिफारिस विधि र प्रक्रिया विपरीत भएको जिकिर गरेका छन्।

अधिवक्ता ढकालले रिटमा वैशाख २४ गते ४८ घण्टाको समय समेत नदिई बोलाएको र प्रधानन्यायाधीशमा गरिएको सिफारिस संवैधानिक नभएकाले बदर गर्न माग गरेका छन् । यो रिट पनि दर्ता हुन बाँकी छ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश बन्न योग्यता पुगेका ६ मध्ये चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाँल डा. शर्मा भन्दा वरिष्ठ न्यायाधीश भएपनि शर्माको नाम सिफारिस भएको छ ।