कावासोती । नवलपुर उद्योग वाणिज्य संघले कावासोती नगरपालिकाले लिँदै आएको विज्ञापन कर सम्बन्धमा पुनर्विचार गर्न आग्रह गरेको छ ।
संघले कावासोती नगरपालीका नगर प्रमुख बिष्णु प्रसाद भुसाल, नगर उपप्रमुख तथा राजश्व परामर्श समितिका संयोजक फुलकुमारी महतो र प्रमुख प्रसासकिय अधिकृत महेस पाण्डेलाई नवलपुर उद्योग वाणिज्य संघको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा व्यवसायीहरूलाई अनावश्यक दबाब सिर्जना हुने गरी कर असुली नगर्न माग गरेको संघका अध्यक्ष बुद्धि सागर पोख्रेल (सागर) पोख्रेलले जानकारी दिए ।
ज्ञापन पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित आर्थिक ऐन अनुसार सार्वजनिक स्थानमा राखिएका विज्ञापन सामग्रीमा मात्रै कर लगाउन सकिने व्यवस्था रहेको उल्लेख गरिएको छ ।
तर, नगरपालिकाले व्यवसाय सञ्चालन स्थलमा राखिएका परिचयात्मक बोर्डलाई समेत विज्ञापनको रूपमा व्याख्या गरी कर तथा शुल्क असुल्न खोजिएको भन्दै संघले आपत्ति जनाएको छ ।
पत्रमा व्यवसाय सञ्चालन स्थलमा ३×१० फिटसम्मको होर्डिङ बोर्ड राख्न पाउने प्रावधान हुँदाहुँदै व्यवसायीलाई धम्क्याउने तथा आतंकित बनाउने शैलीमा दबाब सिर्जना गरिएको गुनासो आएको उल्लेख गरिएको छ ।
यस्ता गतिविधि तत्काल रोक्न संघले माग गरेको छ । संघले सार्वजनिक स्थल, सडक, भवन तथा सार्वजनिक क्षेत्रमा राखिएका ठूला बोर्ड, साइन बोर्ड, ग्लो साइन बोर्ड, डिजिटल डिस्प्ले, इलेक्ट्रोनिक बोर्ड, भित्ते लेखन तथा पेन्टिङ विज्ञापनमा मात्रै विज्ञापन कर लगाउन सकिने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ ।
हाल बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै व्यवसायी र उपभोक्ता दुवै पक्ष प्रभावित भइरहेका बेला दोहोरो–तेहोरो करको भार थपिनु उचित नहुने संघको भनाइ छ । संघले स्थानीय सरकारलाई प्रचलित कानून अनुसार मात्रै कर असुली प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।
ज्ञापन पत्रको बोधार्थ कावासोती नगरपालिकाका नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई समेत दिइएको छ








