बोमलाल गिरी
नवलपुर, भदौ १० गते । चालु आर्थिक वर्षको एक महिनामा नवलपुरमा एक सय ७३ जनालाई सर्पले डसेको छ । जिल्लामा एक महिनामा सबैभन्दा बढी विनयी त्रिवेणी गाउँपालिकामा ८३ जनालाई र कावासोती नगरपालिकामा ८१ जनालाई सर्पले डसेको प्रादेशिक जनस्वास्थ्य कार्यालय प्रमुख केशव प्रसाद चापागाँईले जानकारी दिए ।
त्यस्तै देवचुलीमा ७ तथा बौदिकाली र बुलिङटारमा एक–एक जनालाई सर्पले डसेको छ । यीमध्ये ९ जनालाई विषालु सर्पले डसेको र अहिलेसम्म कसैको पनि ज्यान भने नगएको चापागाँईले जानकारी दिए । आर्थिक वर्ष २०८२÷०८३ मा सर्पदंशबाट नौ सय ७३ जना विरामी भएका थिए भने त्यसमध्ये ३७ वटा विषालु सर्प रहेका थिए ।
नवलपुर सर्पदंशका लागि उच्च जोखिममा रहेको जिल्ला हो । सर्पबाहेक अन्य जनावरले टोक्नेको संख्या भने एक हजार ४५ रहेको कार्यालय प्रमुख चापागाँईले बताए । सर्प वा अन्य जनावरको टोकाइबाट विरामी हुनेहरुलाई स्थानीय पालिका अस्पतालमा उपचार गराउने गरिएको छ ।
गम्भीर बिरामीलाई मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार गर्ने गरेको र निको नभएकाहरुलाई चितवन रेफर गर्ने गरिएको मध्यविन्दु प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले बताए ।
आचार्यका अनुसार अस्पतालमा उपचार गर्न आउनेको संख्या दैनिक बढिरहेको छ । बैशाखदेखि असोजसम्म सर्प बाहिर निस्कने र डस्ने समस्या बढी हुने भएकाले सतर्क रहन उनको सुझाव छ ।
सर्पले डसिहालेमा के गर्ने ?
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आचार्यका अनुसार सर्पले डसिहालेमा बिरामलिाई स्थिर बनाउँदै आश्वासन दिनुपर्छ । प्रभावित अंगलाई नचलाई स्थिर राख्नुुपर्छ । सर्पको विष शरीरका अन्य भागमा सर्न नदिन टोकेको ठाउँभन्दा अलिकति माथि काम्रोले बाँध्नुपर्छ । हिँडडुल गर्दा विष शरीरका अन्य भागमा छिटो सर्ने भएकाले हिँडडुल गर्ने, दौडने गर्नुहुँदैन ।
छिटो अस्पताल पुग्ने नाममा आफैँले मोटरसाइकल पनि चलाउनु हुँदैन । अरु कसैको सहारामा बिरामलिाई छिटोभन्दा छिटो अस्पताल पुर्याउनु पर्छ । त्यस्तै डा. आचार्यले सर्पले डसेपछि पानी पिउन र पिलाउन नहुने बताए । पानी पिउँदा पानीको सहायतामा विष शरीरका विभिन्न भागमा छिटो पुग्ने गर्छ । टोकेको ठाँउमा सुन्निनु अघि औंठी, घडी, टाइट लुगाहरू फुकाल्न पर्ने उनको सुझाव छ ।









