बोमलाल गिरी
नवलपुर, असोज २२ गते । असोज ११ गते नारायणी नदीमा आएको बाढीले चितवको नारायणघाट नजिकको नदी किनारमा ठूलो क्षति गर्यो । करोडौं रुपियाँ खर्च गरेर संरक्षण गरिएको क्षेत्र बाढीका कारण क्षणभरमै क्षतविक्षत बन्यो । दलहरूका सभा सम्मेलन, महोत्सव, ‘कन्सर्ट’देखि साँझ बिहानमा नारायणीको चिसो हावासँगै रमाउने र हिँडडुल गर्न र पर्यटकीय स्थलको रूपमा विकास गर्ने महानगरपालिकाको योजना नारायणी नदीले चकनाचुर पारिदियो ।
बाढीले निर्माणाधीन बहुप्रतिक्षित सिग्नेचर पुलमा पनि क्षति पु¥यायो । तुँदी कन्स्ट्रक्शन परियोजनाका प्रोजेक्ट म्यानेजर मञ्जिल मिश्रका अनुसार बाढीले निर्माण स्थलको तटबन्ध बगाएको छ भने पीवान पाइलनको लागि भरतपुरतर्फ तयार पारिएको प्लेटफर्म पनि बगाएर लगेको छ । गैँडाकोटतर्फ नदी किनारबाट करिब डेढ सय मिटरभित्र रहेका निर्माण प्लान्ट, ब्याचिङ प्लान्ट, स्टक यार्ड लगायतका संरचनाहरू डुबानमा परे ।
बोटेटोल, अमलटारी, सेहरी, बगुवन लगायत नवलपुरका विभिन्न स्थानमा बाढी पस्दा सयौ जना विस्थापित भए । यसले नारायणी नदी व्यवस्थापनलाई गम्भीर विषय बनाएको छ । त्यसैले सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले नारायणी नदीका संवेदनशील क्षेत्र र समाधानका उपाय पहिचान गरेको छ ।
आयोजनाले नारायणी नदी पुलदेखि नवलपुरका विभिन्न स्थान हुँदै नारायणी र राप्ती नदीको संगमस्थल गोलाघाटसम्म पैदल यात्रा गरी विस्तृत सर्वेक्षण तयार पारेको हो । सर्वेक्षणबाट नारायणीको वास्तविक अवस्था, नदी कटान तथा बाढी जोखिम, विद्यमान नदी नियन्त्रण संरचनाको अवस्था, नदीको बहाव तथा बहाव क्षेत्र, संवेदनशील क्षेत्र र आवश्यक कार्यको प्राथमिकता पहिचान गरिएको आयोजना प्रमुख डा नारायणप्रसाद सुवेदीले बताए ।
टोलीले गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, विनयी त्रिवेणीस्थित नारायणी नदीको अवलोकन गरेको हो । अवलोकनबाट नवलपुरको कावासोती अमलटारी क्षेत्रमा ३ किलोमिटरमा सक्रिय नदी कटान, मध्यविन्दुको ब्रह्मस्थानदेखि फरेसिमल, रणपुरदेखि नन्नपुर हुँदै सेहरी क्षेत्रमा करिव ४० किलोमिटर क्षेत्र र दायाँ किनारतर्फ करिव ११ किलोमिटर क्षेत्रमा नदी व्यवस्थापन गर्न आवश्यक रहेको निष्कर्ष निकालिएको आयोजना प्रमुख डा सुवेदीले जानकारी दिए ।
सर्वोक्षणका क्रममा नारायाणीको केही तल्लो प्रवाह खण्डमा जलमार्ग करिव १७६ मिटर तथा जामुने क्षेत्रमा करिव १४२ मिटरसम्म सिमित भएको देखिएको छ । यसरी जलमार्ग साघुरिने अवस्था, धाराको ज्यामितीय बनावर, नदीको घुमाउरो बहाव तथा तल्लो प्रवाह क्षेत्रको जलीय नियन्त्रणले माथिल्लो प्रवाह क्षेत्रको पानीको सतह बढ्न सक्ने जोखिम रहेको औल्याइएको छ । तर यसलाई अझै वैज्ञानिक पुष्टि गर्नु पर्ने सुवेदीको भनाइ छ ।
यो सर्भेक्षणबाट नारायणी नदीको जोखिमयुक्त तथा संवेदनशील क्षेत्र, विद्यमान संरचनाको अवस्था, सक्रिय कटान, बाढी तथा डुबानको जोखिम, जोखिमयुक्त बस्ती र आवश्यक नदी व्यवस्थापन हस्तक्षेपको प्राथमिकता निधारणका लागि महत्वपूर्ण आधार तयार भएको उहाँले बताए ।
प्रारम्भिक मूल्यांकन अनुसार प्रस्तावित तटबन्धलाई वैकल्पिक नदी करिडोरको रुपमा विकास गरी पर्यटकीय गतिविधि बढाई आर्थिक अर्थोपार्जन समेत उकास्ने प्रयोजनका लागि दायाँ र बायाँ नारायणीका दुबै किनारतर्फ नदी व्यवस्थापनका लागि करिव १३ अर्ब स्रोत आवश्यक हुने अनुमान गरिएको छ ।
नदी सम्पत्ति सूचि सर्वेक्षणलाई आधार बनाई नारायणी नदी व्यवस्थापनका आगामी कार्यक्रमहरु जोखिम र आवश्यकतामा आधारित, प्रकृतिमैत्री, स्थानीय आवश्यकता तथा स्रोत साधनको उपयोग गरी अनुकुलित रुपरेखाका आधारमा एकीकृत दिगो नदी व्यवस्थापनको अवधारण बमोजिम नदी नियन्त्रण तथा व्यवस्थापन कार्य अगाडि बढाउने आधार तयार भएको आयोजनाले जनाएको छ ।








