दाङको देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु छ । अरु तीन जना घाइते भएका छन्।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लुप्र ०२-००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लुप्र ०२-००१ ख ०१११ नम्बरको बस लमही नगरपालिका-३ मजगाउँमा आपसमा ठोकिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका-५ हात्तीखाल निवासी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमैमगर छन्।
पूर्वतर्फ जाँदै गरेको ट्रकलाई उछिनेर अटो अगाडि जान खोज्दा पूर्वबाट तीव्रगतिमा लमहीतर्फ आउँदै गरेको यात्रुवाहक बसमा ठोक्किएको थियो।
दुर्घटनामा अटो चालक सरुमारानी गाउँपालिका-५ पाखापानीका जीतबहादुर पल्लीमगर, सोही ठाउँकी सङ्गिता सोमैमगर र नौबहिनी गाउँपालिका-८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन्। घाइते तीनै जनाको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।









