नवलपुर, असोज २० गते । गत भदौ ९ देखि ११ गतेसम्म परेको अविरल वर्षपछि आएको बाढीले भत्काएको नवलपुरको बौदिकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल बनाउन स्थानीय जुटेका छन् । लगातार दुई दिनसम्म जनश्रमदान गरेर नवलपुरतर्फ पुल मर्मतको काम लगभग सकिएको बौदिकालि–६ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठले जानकारी दए ।
स्काभेटर र डोजरको खर्च गाउँपालिकाले व्यहोरेको र बाँकी काम श्रमदानबाट गरिएको श्रेष्ठले बताए । त्यसका लागि आइतबार कालिगण्डकी टोलका वासिन्दा श्रमदानमा खटिएका थिए भने सोमबार बौदिकाली, खहरे टोल र सिंहटारी टोलका वासिन्दाले श्रमदान गरेका अध्यक्ष श्रेष्ठले बताए ।
तर तनहुँ तिरको काम भने अझै सुरु हुन सकेको छैन । घिरिङ गाउँपालिकाले सडक डिभिजन कार्यालयसँग मिलेर पुल निर्माणको ठेक्का दिने तयारी गरेको जनाएको छ । बौदिकाली गाउँपालिकाले भने मेशिनको खर्च घिरिङले व्यहोरेमा आफूहरु श्रमदान गर्नका लागि तयार भएको बताएको छ ।
डेढगाउँ झ्यालवास बाटोबाट आएको पानीको भलले असोज १० गते पुलको पहुँचमार्ग भत्काएको थियो । बाढीले पहुँचमार्ग बगाएपछि आवतजावत पूर्ण रुपमा ठप्प भएको छ । पुल भत्केपछि तनहुँको भिमाद, पोखार, दमौली, पाल्पाको रामपुर आवागमन ठप्प भएको हो ।








