कावासोती, असोज २४ गते । पतञ्जलि योग समिति नवलपुरद्वारा असोज ४ गतेदेखि २४ गतेसम्म सिद्धार्थ योग केन्द्र कावासोतीमा सञ्चालित सह-योग शिक्षक तालिम कार्यक्रम आज विशेष समारोहका बीच समापन भएको छ ।
उक्त तालिममा २७ जना प्रशिक्षार्थीहरूले “योग तथा जीवनशैली” सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक सिप सिक्दै उत्कृष्ट तरिकाले तालिम हासिल गरेका आयजकले जनाएको छ ।
तालिम कार्यक्रम अवधिभर प्रमुख प्रशिक्षक पतञ्जलि योग समिति गण्डकी प्रदेशका उपाध्यक्ष गणेश आचार्य थिए भने प्रशिक्षकहरूमा पतञ्जलि योग समिति नवलपुरका अध्यक्ष डा. नरनाथ पाण्डे, महिला अध्यक्ष कान्ति गिरी, आचार्य कृष्ण बस्याल र तालिम कार्यक्रमको एक सत्र सञ्चालनका लागि हरिद्वारका नेपाल प्रतिनिधि साध्वीजी समेतको उपस्थिति रहेको थियो ।
तालिममा सहभागीहरूले योग, आसन, प्राणायाम, ध्यान, भोजनशैली, तनाव व्यवस्थापन, जीवनशैली व्यवस्थापन र आध्यात्मिक चेतनाको ज्ञान समेत सैद्धान्तिक तथा व्यवहारिक रूपमा सफलतापूर्वक सिकेका थिए। तालिमको अन्तमा लिखित, मौखिक तथा प्रायोगिक अभ्यास समेत गराई २७ जना प्रशिक्षार्थीमध्ये उत्कृष्ट महिला र पुरुष एकएक जना घोषणा गरी पुरस्कार समेत दिइएको थियो।
उक्त कार्यक्रमको समापन सत्रको अध्यक्षता पतञ्जली योग समिति नवलपुरका अध्यक्ष डा. नरनाथ पाण्डेले गरेका थिए भने प्रमुख अतिथि उच्च अदालतका सेवानिवृत्त न्यायाधीश ऋषि अधिकारी, विशेष अतिथि पतञ्जलि योग समिति गण्डकी प्रदेशका उपाध्यक्ष गणेश आचार्य रहेका थिए। कार्यक्रममा स्वागत मन्तव्य महिला अध्यक्ष कान्ति गिरीले दिएकी थिईन भने कार्यक्रमको सञ्चालन युवा नेपाल समितिका नवलपुर अध्यक्ष मदन गिरीले गरेका थिए ।
कार्यक्रममा प्रशिक्षकको भूमिका निर्वाह गरेका र व्यवस्थापनमा सहयोग गर्ने ६ जनालाई सम्मान-पत्र समेत दिइएको थियो।
अध्यक्ष डा. नरनाथ पाण्डेले पतञ्जलि योग समिति नवलपुरको यो तालिम कार्यक्रम उत्साहप्रद रहेको र यसमा सिकेका ज्ञान तथा सीपलाई योग साधना केन्द्र मार्फत प्रदान गर्न, नियमित योग साधना केन्द्रमा सहभागी भई निरन्तर योग गर्न र सबैलाई योगमा जोड्न अनुरोध गरे।
गण्डकी प्रदेशका उपाध्यक्ष गणेश आचार्यले योगको महत्व र यसका सम्पूर्ण फाइदाहरु तालिम अवधिभर भनिएकाले त्यसलाई व्यवहारमा अपनाउन, योगको अनुशासनमा रहन र आगामी दिनमा योगको प्रचार अभियानलाई गाउँ गाउँमा पुर्याउन आह्वान गरे।
प्रमुख अतिथि ऋषि अधिकारीले योगको महत्व र आवश्यकतालाई औल्याउँदै पतञ्जलि योग समिति नवलपुरको योग शिक्षक तयार गर्ने अभियान असाध्यै उत्कृष्ट रहेको र यो कार्यबाट आफू अत्यधिक प्रभावित भएको बताए ।








