नवलपुर, बैशाख २५ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।
नारायणघाटबाट भेडावारी तर्फ जाँदै गरेको ना ७ ख ८६२१ नम्बरको टिप्परले लु ४१ प ९२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसायकलको पछाडि सवार देवचुली नगरपालिका–१० बस्ने ३५ वर्षीया जमुना गिरी थापाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा उहाँका श्रीमान ४० वर्षीय राज बहादुर थापा घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए । उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुबै सवारी साधन र टिप्पर चालक चितवनको भरतपुर महानगरपालिका–१८ का ३२ वर्षीय सुनिल महतोलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।








