बोमलाल गिरी
नवलपुर, जेठ २७ गते । नवलपरासीको सुस्ता गाउँपालिका–५ मा ८ कक्षासम्म मात्र पढाई हुने एउटा मात्र श्री जनता दलित आधारभुत विद्यालय छ । ९ कक्षा पढ्नका लागि कि त भारतको बिहार हुँदै हिँडेर नेपालको बलिनगरमा रहेको बिपी माध्यामिक विद्यालय जानु पथ्र्यो कित डुंगा चढेर नारायणी पार गरेर जानु पथ्र्यो । यो यात्रा सहज नभएकाले गाउँका धेरै बालबालिकाले ८ कक्षाभन्दा माथि पढ्न सकेनन् ।
सुस्ताबासीले आफ्नै भूमिमा आउजाउ गर्न पनि भारतीय भूमिको प्रयोग गर्नु पर्ने र जोखिमपूर्ण डुंगा यात्रा गर्नुको विकल्प थिएन । त्यसमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय नागरिकले दिएको सास्ती सुस्तावासीले सायद कहिल्यै बिर्सने छैनन् । नारायणी नदी (गण्डक) ले घेरिएको सुस्ता भूमिबाट आफ्नै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन नदी पार गर्न साढे २ किलोमिटर जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्ने बाध्यता थियो ।
तर अव भने अनेक यातनाबाट मुक्ति मिलेको बताउँछन् सुस्ता बचाउ अभियानका संयोजक आदम खाँन । ‘‘वर्षाको समयमा जोखिमपूर्ण डुंगा यात्रा र भारतीय बाटो प्रयोग गर्न बाध्यात्मक अवस्था हटेको छ,’’ संयोजक खाँनले भने, ‘‘नारायणीमा बनेको नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलले सुस्ता बदलिँदै गएको छ, सुस्तावासीलाई नेपालीपन दिलाएको छ ।’’
पश्चिम नवलपरासीको पक्लिहवाबाट सुस्ता गाउँपालिका–५, सुस्तालाई जोड्ने गरी बनेको मुलुककै लामो एक हजार ५७१ मिटरक लम्बाई र १.६ मिटर चौडाईको पुलमा अहिले सहजै हिँडडुलसँगै साइकल, मोटरसाइकल र स्कूटर पनि सरररर कुँदाउन सकिन्छ । मोटरसाइकलमा ओहोरदोहोर गर्नेहरुको चहलपहल बढेको छ ।
गाउँको विद्यालयमा ८ भन्दा माथि पढाई नहुने भएकाले बालबालिका जोखिमपुर्ण यात्रा गर्न नसकेका कारण कि बिचमै पढाई छोड्ने कि भारत पलायन हुने गरेको समस्या समाधान भएको बताउँछिन्, सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरी । ‘‘वर्खामा पानी पर्ने बित्तिकै जोखिमका कारण डुंगा पनि चलाउन नपाउँदा आवतजावत नै बन्द हुन्थ्यो, सुस्तावासीको अन्यत्रसँगको सम्बन्ध टुट्ने गथ्र्यो, अहिले त्यो अवस्था छैन,’’ उपाध्यक्ष चौधरीले भनिन् ।
पुलको सुरक्षामा चुनौती
पुल निर्माण कम्पनी त्रिशुली आश्रय जेभी कन्स्ट्रक्सनले औपचारिक रुपमा पुल हस्तान्तरण गरिसकेको छैन । २३ करोड ६५ लाख ९८ हजार ८०० रूपियाँमा सम्पन्न भएको पुल हस्तान्तरण नहुँदै यहाँ जोखिम बढेको छ ।
झोलुङ्गे पुलमा भार नियन्त्रणको कुनै उपाय अवलम्बन गरिएको छैन । एउटै मोटरसाइकलमा तीन चार जनासम्म चढ्ने, धेरै मोटरसाइकल एकै पटक कुदाउने गरेका कारण पुलको सुरक्षामा चुनौती थपिएको उपाध्यक्ष चौधरीले बताइन् । सुुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले नेपालीभन्दा पनि भारतीयकै कारण पुलको सुरक्षामा चुनौती थपिएको बताए।
बिहारमा भन्दा उत्तरप्रदेशमा सामान सस्तो पाइने भएकाले उनीहरुले मोटरसाइकलमा क्वीन्टलका क्वीन्टल राखेर पुलमा कुदाउने गरेकाले जोखिम थपिएको उपाध्यायले बताए । डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयले पुलमा मोटरसाइकल चलाउन रोक लगाउन भने पनि त्यो रोक्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।
पुलले बढायो आन्तरिक पर्यटन
पुल निर्माणसँगै यहाँ आन्तरिक पर्यटकीय गतिविधि बढ्न थालेका छन् । पुल हेर्न आउनेको घुइँचो लाग्ने गरेको सुुस्ता‐५ का अध्यक्ष प्रभुनाथ अहिरले बताए । पुल निर्माणपछि यहाँका स्थानीय उत्साहित भएको उनको भनाइ छ ।
हाल स्थानीयसँगै छिमेकी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका नागरिक पनि पुलको अवलोकनका लागि उल्लेख्य रुपमा आउने गरेका उपाध्यक्ष चौधरीले बताइन् । ‘‘अहिले त यहाँ मेला लागेजस्तै भिडभाड हुने गरेको छ, दैनिक हजारौं मान्छे पुल हेर्न आउँछन्, त्रिवेणी धाम आएकाहरु एकपटक पुल हेर्न भनेर यहाँ आएकै हुन्छन्,’’ चौधरीले भनिन्, ‘‘यसले पर्यटकीय गतिविधि बढ्न गई आर्थिक रूपमा लाभ पुग्ने अपेक्षा गरेका छौं ।’’
जनता दलित आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक उदय बहादुर रुचानले पनि नेपालकै लामो झोलुङ्गे पुल बनेपछि पर्यटकीय गन्तव्य बन्ने भन्दै आफूहरू उत्साहित बनेको बताए । ‘‘सुस्ता भनेपछि सधैँ दुःखका कुरा मात्रै हुन्थे । अब पुल बनेपछि नारायणी नदीको अवरोध छिचोल्न सहज भएको छ,’’ रुचानले भने, ‘‘हालको जस्तै आन्तरिक पर्यटकको आकर्षण कायम रहे यस क्षेत्रका जनताको आर्थिक विकासमा टेवा पुग्नेछ ।’’
हेर्नुहोस् भिडियो









