नवलपुर, जेठ २२ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुलीमा ट्रकसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।
देवचुली नगरपालिका–१४ प्रगतिनगरमा कावसोतीबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख १७५७ नम्बरको ट्रकको टायर पड्किन गई साइडमा रोकि बनाउने क्रममा सोही दिशाबाट आउदै गरेको ग १० प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोकिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार मध्यबिन्दु नगरपालिका–१ का ५१ वर्षीय ओमनारायण गुरौ (थारु)को उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए । मोटरसाइकल चालक भारतीय नागरिक २६ वर्षीय बिशाल कुमार श्रिवास्तव घाइते हुनु भएको छ ।
प्रहरीले ट्रक चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१० भुतहाका ५२ वर्षीय भिम बहादुर पुनलाई नियन्त्रणमा लिएको जनाएको छ ।









