कावासोती, जेठ २० गते । खेती गर्न प्रयोग गरिने ट्रयाक्टरमा समान शूल्क र रसायनिक मलको सहज आपूर्तिको माग गर्दै नवलपुरको कावासोतीका कृषकले नगरप्रमुख विष्णुप्रसाद भुसाललाई ज्ञापन पत्र बुझाएका छन् ।
हाल कावासोती नगरपालिका क्षेत्रमा धान तथा अन्य मौसमी खेती गर्नका लागि ट्रयाक्टर सेवामा निर्भर भएको तर ट्रयाक्टर शूल्कमा एक रुपता तथा सपष्ट मापदण्डको अभावका कारण कृषक असमान तथा अत्याधिक शूल्क तिर्न बाध्य भएको भन्दै कृषकले नगरप्रमुख भुसाललाई ज्ञापन पत्र बुझाएका हुन् । यसले कृषि उत्पादनमा असर गर्ने र कृषकको आर्थिक अवस्थामाथि प्रत्यक्ष असर पारिरहेको कृषक प्रतिनिधि विष्णुप्रसाद पोख्रेलले बताए ।
कृषकले ट्रयाक्टर जोताई सेवाको प्रतिघण्टा वा प्रति क्षेत्रफल वैज्ञानिक तथा व्यवहारिक दर निर्धारण गरी तत्काल सार्वजनिक गर्न माग गरेका छन् । अहिले खेतपिाती तथा रोपाईँको समय भएकाले दर निर्धारणमा ढिलाई नगर्न कृषकको माग छ ।
साथै उनीहरुले अहिले बजारमा रसायनिक मलको अभाव देखिएको भन्दै यथासक्य मलको आपूर्ति सहज गराईदिन पनि माग गरेका छन् । जवाफमा नगरप्रमुख भुसालले छलफल गरेर शुल्क निर्धारण गर्ने प्रतिवद्धता जनाएका छन् ।









