नवलपुर, असोज ३० गते । नवलपुरको गैँडाकोटमा महिलाको चिहान उत्खनन गरी शव बाहिर निकालेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
गैँडाकोट नगरपालिका–४ रानीतालका ४९ वर्षीया कनिमाया गुरुङको चिहान खनेर शव निकालेको आरोपमा प्रहरीले सोही ठाउँका ३१ वर्षीय शक्ति परियार (शिव) लाई पक्राउ गरेको जनाएको छ ।
कनिमायाको गत असोज २४ गते मृत्यु भएको थियो । उहाँको परम्पराअनुसार स्थानीय गैँडाकोट सामुदायिक वन क्षेत्रमा खाडल खनेर समाधिस्थ गरी दाहसंस्कार गरिएको थियो । काजकिरियाको अन्तिम दिन असोज २६ गते बिहान मृतकका आफन्तहरू समाधिस्थलको माटो लिन पुग्दा चिहानको माटो खनीखोस्री शव खुल्ला अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा समाधिस्थल खनेर शव निकाल्ने तथा समाधिस्थलमा क्षति पु¥याउने कार्यमा संलग्न रहेको खुल्न आएपछि शक्ति परियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए । परियारविरुद्ध धर्म सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको पण्डितले बताए ।









