काल बन्दै चिल्ला सडक

नवलपुर, असोज २८ गते । पछिल्लो समय नारायणघाट–बुटबल सडक खण्डमा दुर्घटना नभएको खवर विरलै सुन्न पाइन्छ । सडक विस्तारको काम सकिएर बाटो चिल्लो भएसँग यहाँ दैनिकजसो दुर्घटना भइरहेका छन् । चालु आर्थिक वर्षको तीन महिना सकिनै लाग्दा नवलपुरमा मात्र ९० वटा वटा सवारी दुर्घटना भएका छन् ।

यी दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने एक सय ५० जना घाइते भएका र घाइतेमध्ये २४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा १०७ वटा दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो भने १०४ जना घाइते हुँदा ६० जना गम्भीर घाइते भएका थिए ।

सडक विस्तार भएपछि तिब्र गति, लेन अनुशासनको उलंघन, जथाभावि ठाउँबाट बाटो काट्ने प्रबृति, पुराना सवारी साधनको प्रयोग र ओभरटेकका कारण दुर्घटना बढेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले बताए । सडक विभागले गाडीको गति नियन्त्रणका लागि सडकको छेउछाउमा होडिङ बोर्ड राखेपनि चालकले त्यो पालना नगरेको प्रहरीको भनाइ छ ।

एउटा सवारी साधनले अर्कोलाई हानेर भाग्ने (हिट एण्ड रन) क्रम बढेको भन्दै यो प्रहरीका लागि सबैभन्दा टाउको दुखाइको विषय भएको उनले बताए । त्यस्तो अवस्थामा पीडितले क्षतिपूर्ति र उपचार खर्चसमेत नपाउने भएकाले दुर्घटना गराएर भाग्ने सवारी साधन खोज्न चनाखो भएर धेरै जनशक्ति परिचालन गर्नु परेको खड्काले बताए ।

चार हजार ९८५ वटा सवारी साधनलाई कारवाही गर्दा चालु आवमा एक करोड ४१ लाख ३४ हजार राजश्व संकलन गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो । अघिल्लो आवमा पाँच करोड ९४ लाख रुपियाँ राजश्व संकलन भएको थियो ।

पहिले यो सडक खण्डमा यात्रा गर्न झण्डै पाँच छ घण्टा लाग्ने गरेकोमा अहिले दुई घण्टामै यात्रा गर्न सकिने सवारी चालकहरुले बताएका छन् । सडक विस्तारको काम अन्तिम चरणमा पुगेको र अहिले होडिङ बोर्ड राख्ने, सर्भिस लेन मर्मत गर्ने तथा रंगरोगनको काम भइरहेको सडक आयोजनाले जनाएको छ ।