नारायणी नदी किनारमा भेटिएका दुई शंकास्पद बस्तु पड्किँदा ३ जना घाइते

नवलपुर, असोज २६ गते । नवलपुरको कावासोती नगरपालिका–१७, अमलटारीघाटस्थित नारायणी नदीको किनार र त्रिवेणीमा भेटिएका शंकास्पद वस्तु काट्ने क्रममा पड्किँदा तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान मध्यविन्दु नगरपालिका–३, ब्रह्मस्थानका ४९ वर्षीय एकासी बोटेले नदी किनारमा अज्ञात वस्तु फेला पारेका थिए । बाहिरी भागमा डोरीजस्तो वस्तुले बेरिएको र भित्री भाग फलामजस्तो तथा बेलुनाकार रहेको उक्त वस्तु उनले घरमा ल्याएका थिए ।

कवाडी व्यवसायीसमेतको सहयोगमा ह्याक्सा ब्लेडले वस्तु काट्ने क्रममा अचानक पड्किएपछि दुवै जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

घटनामा बोटेको दुवै हातको हत्केलामा गहिरो चोट लागेको छ। त्यस्तै, भारतको मोतिहारी घर भई हाल कावासोती नगरपालिका–८, थकाली चोकमा बस्दै आएका २८ वर्षीय सचिन कुमारको बायाँ हातको हत्केलामा गहिरो चोट लागेको छ भने बायाँ आँखाले देख्न नसक्ने अवस्था रहेको पण्डितले जानकारी दिए ।

दुवै घाइतेलाई प्रारम्भिक उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पतालमा रिफर गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्यीयस्तै  त्रिवेणी गा.पा.वडा नं. ७ ब्यारेजपुल स्थित रानिनगर जाने बाटोमा कवाडि संकलन गर्ने देश भारत जिल्ला मोतिहारी थाना सुगौली ग्राम करमहना घर विनयी त्रिवेणी गा.पा.वडा नं. ७ रानिनगर बस्ने बर्ष ३५ को पुष्पराज पन्डितले स्टिलको कालो सिलिन्डर जस्तो देखिने बस्तु (नाम नखुलेको) कबाडको लागि बन्चरोले बाटोमा फुटाउन खोज्दा पड्किएर घाइते भएका छन् ।

बाँया हातमा चोट लागेका उनलाई  उपचारको लागि भारत तर्फ पठाइएको घटना सम्बन्धमा अनुसन्धान कार्य भइ रहेको पण्डितले जानकारी दिए ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले नारायणी नदीको किनारलगायत अन्य स्थानमा शंकास्पद वा अज्ञात वस्तु फेला परेमा नछुन, नचलाउन तथा काट्ने वा खेलाउने काम नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

त्यस्ता वस्तु देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गरी सम्भावित दुर्घटनाबाट बच्न पनि प्रहरीले अनुरोध गरेको छ ।
हाइड्रोपावरमा विविष्फोट गराउनका लागि राखेको विस्फोटक पदार्थ  भदौ १० गते आएको विनासकारी बाढीले बगाएर ल्याएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।