कसरी आयो बूढीगण्डकी नदीमा लेदोसहितको बाढी ?

गोरखामा पर्ने बूढीगण्डकी नदीमा कालो लेदोसहितको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। हालसम्म १० जना सम्पर्कविहीन भएका छन्। घरका साथै पक्की र झोलुङ्गे पुल बगाएको छ।

कसरी आयो लेदो सहितको बाढी ?

२४ घण्टामा त्यस क्षेत्रमा पानी परेको छैन तर बाढी कसरी आयो ? बाढी आउनुका पछाडि विभिन्न कारण अनुमान गरिएको छ। तर यही कारण लेदोसहितको भयावह बाढी आयो भन्ने बारेमा विपद् भोगका स्थानीयदेखि सरकारी अधिकारीहरूले समेत यकिन गर्न सकेका छैनन्।

राष्ट्रिय विपद् तथा जोखिम व्यवस्थापन प्राधिकरणका प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार हालसम्म बाढी आउनुको कारण यकिन भइसकेको छैन। तथापि स्थानीयसँगको कुराकानीका आधारमा केही कारण अनुमान गरिएको छ।

‘पहिरो गएर नदी थुनिएको जस्तो पनि देखिन्छ। माथिबाटै आएको हुनाले हिमपहिरो खसेर नदी थुनिएको र क्रमशः झर्दै, थुनिदै तल आएर ठूलो रूप लिएको पनि हुनसक्छ’, डा. उप्रेतीले भने, ‘स्थानीयसँग कुरा गर्दा हिमपहिरो हो कि भन्ने पनि छ।’

अहिले उक्त क्षेत्रमा ड्रोनसहितको टोली पठाइएको बताउँदै उनले ड्रोनको इमेजहरू आएपछि केही निष्कर्षमा पुग्ने बताए। यस्तैगरी अन्तराष्ट्रिय स्याटेलाईट इमेजहरु पनि संकलन गरिरहेको डा. उप्रेती बताउँछन्। आज साँझसम्म मूल कारण पत्ता लाग्ने अनुमान गरिएको छ।

समग्रमा यतिखेरसम्म सुक्खा पहिरो गई नदी थुनिएर या हिमपहिरो नै भोटेकोशी, त्रिशूलीको जस्तै भएर आएको हुनसक्ने प्रारम्भिक अनुमानमा सरकारी अधिकारीहरू पुगेका छन्।

पछिल्लो २४ घण्टामा त्यस ठाउँमा पानी परेको छैन। तर केही दिनदेखि पानी परेकोले त्यसले पहिरो ल्याएर नदी थुनिएको र अहिले फुटेको पनि हुनसक्ने सम्भावना छ। ‘यिनै अनुमानका आधारमा कारणहरु विश्लेषण गर्दैछौँ’ डा. उप्रेतीले थपे।