गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहित आएको बाढीले ठूलो भौतिक क्षति गरेको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बाढीले ठूलो भौतिक क्षति गरेको बताए। उनका अनुसार अहिलेसम्म मानवीय क्षतिको विवरण भने आएको छैन। बाढीले बूढीगण्डकी आयोजनाको क्याम्प, केही स्कूल तथा पैयूँ र बगर गाउँका ३५÷४० वटा घर बगाएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए। बाढीले बस्तीमा ठूलो क्षति गरेको छ।
प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार चुमनुब्री गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगाएको हो। बाढीले क्याम्पसँगै केही उपकरणसमेत बगाएको जानकारी गराएको उनले बताए।
३४१ मेगावाट क्षमताको अर्धजलाशययुक्त उक्त आयोजनाको निर्माणका लागि राखिएको क्याम्प बाढीले बगाएको हो। बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि व्यापक क्षति पु¥याएको छ। बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल समेत बगाएको छ।
चुमनुम्ब्री गाउँपालिका–६ लोप्पा भन्ने ठाउँमा सुक्खा पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि भीषण बाढी आएको उनले बताए। आइतबार बिहान ४ बजेतिर ठूलो आजावसहित बाढी आएको थियो। नदी थुनिने र खोलिनेक्रम जारी रहेका कारण यस क्षेत्रका मानिसमा त्रास फैलिएको छ।







