बुढीगण्डकीमा बाढीः माछिखोला बजारमा पनि ठूलो क्षति, केरौंजा जाने झोलुङ्गे पुल बगायो

असोज २५ गते । गोर्खाको बूढी गण्डकी नदीमा आकस्मिक रुपमा ठूलो बाढी आएको छ। बाढीले नदी आसपाका धेरै भौतिक संरचनामा क्षति गरेको छ।

चुमनुम्ब्री गाउँपालिका–६ मा आज बिहान आकस्मिक रुपमा आएको बाढी निकै ठूलो भएको स्थानीयले बताएका छन्। बाढीले सिर्दिवासस्थित जगत क्षेत्रमा घरहरु बगाएको छ। चुमनुब्री गाउँपालिका–६ मा उग्युलुङ खोला थुनिएर अचानक बाढी आएको बताइएको छ। उग्युलुङ र स्यार खोलामा ठूलो आवाज सुनिएपछि स्थानीय बासिन्दा र पर्यटक सुरक्षित स्थानतर्फ भागेका छन्।

गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रले आइतबार बिहान चार बजेर ३५ मिनेटमा ठूलो बाढी आएको जानकारी दिए। चुमनुम्ब्री गाउँपालिका ६ मा पहिरोले थुनिएको खोला एकैपटक बग्दा ठूलो बाढी आएको चुमनुम्ब्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिएका छन्।

बाढीले तल्लो तटीय क्षेत्रमा पर्ने सल्लेरी र जगत बजार क्षेत्रमा जोखिम रहेको भन्दै स्थानीय प्रशासनले सावधानी अपनाउन आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाले पनि बूढीगण्डकीमा आकस्मिक बाढी आएको भन्दै सतर्कता अपनाउन मोवाइलमा एसएमएस पठाएको छ।

आइतबार बिहानै बूढीगण्डकी नदीमा आएको बाढी आरुघाटसम्म पुग्न ३ घण्टा लाग्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए।

‘बूढीगण्डकीमा आएको बाढी आरुघाट पुग्न ३ घण्टा लाग्छ, ‘उप्रेतीले भने, ‘तल्लो तटीय क्षेत्रमा जोगिनका लागि धेरै समय छ।’ उनले तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक भएको बताए। सिर्दीबास, जगत, यारी, तातोपानी, सोती आरुखोलालगायत क्षेत्रमा त्यसले असर गर्ने बताउँदै प्राधिकरणले एसएमएस अलर्ट पठाइसकेको जानकारी दिए। बाढी कसरी र कहाँबाट सुरु भयो भन्ने बारे यकिन विवरण प्राप्त भइनसकेको प्राधिकरणको भनाई छ।

‘त्यो हिमालसँग जोडिएको नदी हो। काहीँ पहिरो गएर थुनिएर पनि आएको हुन सक्छ,’ उनले भने, ‘एकदमै धेरै माथि छ। तल आउन ३÷४ घण्टा समय लाग्ने भएकाले तल्लो तटीय क्षेत्रमा जोगिनका लागि उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। माथिल्लो भेगमा भने केही क्षति पु¥याएको तर, पूरा विवरण भने प्राप्त भइनसकेको प्राधिकरणले जनाएको छ।

माछिखोला बजारमा पनि ठूलो क्षति, केरौंजा जाने झोलुङ्गे पुल बगायो

यसैगरी, बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको माछिखोला बजारमा ठुलो क्षति पुर्याएको छ। बाढीले केरौंजा जाने झोलुंगे पुल बगाएको छ भने सल्लेरी र जगत बजारमा समेत ठुलो क्षति पु¥याएको छ।

चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा गएराति सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ। अहिले पनि नदी थुनिने र खुल्ने भैरहेको स्थानीयले बताएका छन्।

नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको थियो।

हेर्नुहोस् भिडियो