नवलपुरमा एकै दिन तीनवटा दुर्घटना, एकको मृत्यु, चार जना घाइते

नवलपुर, असोज २६ गते । नवलपुरमा सोमबार एकै दिन भएका तीन छुट्टाछुट्टै दुर्घटना एक जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गैँडाकोट नगरपालिका–५ कुसुमपाटको भित्रि सडकखण्डमा कालिका चोकबाट श्रीराम प्यालेस तर्फ जादै गरेको गैँडाकोट इग्लिस स्कुलको ग १ ख ३९७० नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको ना ५८ प ४५७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गैँडाकोट–६ का २६ वर्षीय राजु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उहाँको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए । प्रहरीले बसका चालक सोही ठाउँका ५१ वर्षीय मनिराम थापामगरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै देवचुली नगरपालिका–१३ दलदलेमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । कावासोतीबाट नारायणघाटतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ प ९०४९ नम्बरको मोटरसाइकल गलत दिशाबाट गई विपरीत दिशाबाट आउँदै गरेको गण्डकी प्रदेश ०४–००१ प ८३०४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कावासोती नगरपालिका–८ टरुवा निवासी ३० वर्षीय रविन्द्र चौधरी, मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय सुरज परियार र स्कुटर चालक देवचुली–११ का २२ वर्षीया श्वेता भुसाल घाइते हुनु भएको पण्डितले जानकारी दिए ।

चौधरी र परियारको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुटर चालक भुसालको भने देवचुली अस्पताल दलदलेमै उपचार भइरहेको छ । दुर्घटनापछि दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती–११ लोकाहामा नारायघाटबाट डण्डातर्फ जादै गरेको बा.प्र.०६–००१ ख ०२८८ नम्बरको बसको पछाडी सोही दिशाबाट आउदै गरेको बा.प्र.०३–००३ प १०८२ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक चितवन भरतपुर महानगरपालिका–६ गितानगरका ३२ वर्षीय महेश तिमल्सिना घाइते हुनुभएको छ ।

प्रहरीले दुबै सवारी साधन र बसका चालक बुलिङटार गाउँपालिका–२ का अर्जुन सारु मगरलाई नियन्त्रणमा लिएको जनाएको छ ।