नवलपुर, असोज २६ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१३ दलदलेमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
कावासोतीबाट नारायणघाटतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ प ९०४९ नम्बरको मोटरसाइकल गलत दिशाबाट गई विपरीत दिशाबाट आउँदै गरेको गण्डकी प्रदेश ०४–००१ प ८३०४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक कावासोती नगरपालिका–८ टरुवा निवासी ३० वर्षीय रविन्द्र चौधरी, मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय सुरज परियार र स्कुटर चालक देवचुली–११ का २२ वर्षीया श्वेता भुसाल घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
दुर्घटनामा चौधरीको दाहिने हात र खुट्टामा चोट लागेको छ । उहाँको देवचुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनको भरतपुर रेफर गरिएको छ । त्यस्तै, परियारको टाउको, बायाँ खुट्टा र दाहिने हातमा चोट लागेको छ । बोल्न नसक्ने अवस्थामा रहेका उहाँलाई पनि सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर रिफर गरिएको पण्डितले जानकारी दिए ।
स्कुटर चालक भुसालको देवचुली अस्पताल दलदलेमा उपचार भइरहेको छ । दुर्घटनापछि दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।









