नवलपुरमा अनलाइन ठगीको बिगबिगी, डिजिटल ठगहरु नयाँ नयाँ उपाय अपनाउँदै

बोमलाल गिरी
नवलपुर, असोज २७ गते । नवलपुरमा अनलाइनमार्फत ठगी गर्ने क्रम बढेको छ । विभिन्न प्रलोभन देखाएर अनलाइनमार्फत सर्वसाधारण र त्यसमा पनि महिलालाई बढी ठग्ने गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ठगहरुले सात सयदेखि एक करोड ३१ लाख १० हजार रुपैयाँसम्म ठग्ने गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार चालु आर्थिक वर्षमा मात्र एक सय १७ वटा ठगीका निवेदन दर्ता भएका छन् । जसमध्ये अनलाइन सामान खरिदका ९७ र लट्रीका २० वटा निवेदन रहेका पण्डितले जानकारी दिए ।

हालसम्म ठगहरुले दुई करोड सात लाख ठगि गरेकोमा ४९ लाख दुई सय रुपियाँ फिर्ता ल्याउन प्रहरी सफल भएको छ । गत आर्थिक वर्षमा एक करोड २९ लाख अनलाइन ठगि भएकोमा प्रहरीले ५३ लाख रुपियाँ फिर्ता ल्याएको थियो । गत आर्थिक वर्षमा अनलाइन सामानका १९४ र लट्रीका ७० गरी २६४ वटा निवेदन दर्ता भएका पण्डितले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार डिजिटल ठगहरुले ओपीटी कोर्ड मागेर, स्क्रिन सेयरिङको माध्यम र लिंक पठाएर समेत ठगी गर्ने प्रबृति बढेको छ । एकै छिनमा लखपति हुन्छु भन्ने लोभले सर्वसाधारणलाई ठगिको जालोमा पार्ने गरेको उनको भनाइ छ ।

विशेषगरी श्रीमान विदेश भएका महिलाहरुलाई डिजिटल ठगहरुले तार्गेट गर्ने गरेका छन् । सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाई जालमा पार्ने, मायाजाल वा विभिन्न उपहारको प्रलोभन देखाएर नजिक बनाउने, डिमार्टमेन्ट स्टोरमा गई भिडियो कल गरी बहुमुल्य सामान देखाएर छान्न लगाई लोभ्याउने र पैसा असुल्ने लगायत ठगीका नयाँ नयाँ उपाय अपनाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

सोझा नागरिकलाई मोवाइलको स्क्रिन सेयर गर्न लगाएर वा ओपिटी कोड पठाउन लगाएर एक मिनेटमै बैंक खातामा भएको सबै रकम रित्याइदिने गरेकोले प्रहरीको भनाइ छ । चाडवार्डमा त्यो क्रम झनै बढ्ने भएकाले सतर्क हुन प्रहरीले सबैसित आग्रह गरेको छ ।