लूको जोखिम बढ्यो, जोगिन यस्ता उपाय अपनाउन विशेषज्ञको सुझाव

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले मनसुनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तापलहरबाट जोगिन आवश्यक सतकर्ता अपनाउन आग्रह गरे। उनले सरकारले लूको जोखिम रहेका तराईका जिल्लाहरुमा जोखिम न्यूनीकरण गर्न सरकारले सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक तयारी गर्नुपर्ने बताए।

उनले तातो लहर (लू)बाट बच्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव दिए। डा.अधिकारीले तापलहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्नसक्ने भएकाले उच्च तापक्रमका वेला घरबाहिर निस्कँदा आवश्यक सावधानी अपनाउन आग्रह गरे।

उनले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले विशेष सतर्कता आवश्यक रहेको बताए। तातो लहरको जोखिमबाट बच्न धूम्रपान तथा मद्यपानबाट टाढा रहन, शरीरमा पानीको मात्रा सन्तुलित राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श लिन पनि उनले आग्रह गरे।