बंगलादशको ढाका प्रिमियर डिभिजन क्रिकेट लिगमा एउटा अनौठो र दुखद घटना भएको छ। खेलाडीहरूलाई उनीहरूको बाँकी पारिश्रमिक नदिएपछि ‘ब्रदर्स युनियन’ क्लबले खेल नै त्यागिदिएको छ।
सावरमा हुने तय भएको खेलमा ब्रदर्स युनियनका कप्तान जाहिदुज्जमान टसका लागि मैदानमा आएनन्। कप्तान नआएपछि म्याच रेफ्रीले विपक्षी टोली ‘अग्रानी बैंक’ लाई विजयी (वाकओभर) घोषणा गरिदिए।
टोलीका अफस्पिनर सोहाग गाजीका अनुसार क्लबले खेलाडीहरूको बाँकी रकम तिर्न अस्वीकार गरेपछि खेलाडीहरूले यो कडा कदम चालेका हुन्।
लिगको नियम अनुसार अब ब्रदर्स युनियन सिधै ‘रेलिगेसन’ (तल्लो डिभिजनमा घटुवा) मा पर्नेछ। साथै, क्लबले क्रिकेट बोर्डबाट पाएको अनुदान फिर्ता गर्नुपर्नेछ, २० हजार टाका जरिवाना तिर्नुपर्नेछ र खेलाडीहरूले यो सिजन बनाएका रन र विकेटको रेकर्ड पनि मेटिनेछ।
खेलाडीहरूले सुरुमा २० प्रतिशत रकम पाएका थिए, तर इद मनाउनका लागि पाउनुपर्ने ३० प्रतिशत रकम क्लबले दिएन। चाडबाडको समयमा आर्थिक समस्या भएपछि खेलाडीहरूले पटक-पटक पैसा मागेका थिए।
खेलाडीहरू पैसा माग्न जाँदा क्लब अधिकारीले ३ घण्टा कुराएका थिए। त्यसपछि ६ हजार देखि ३५ हजार टाकासम्मका साना खामहरू (जुन निकै कम थियो) दिएर उनीहरूलाई अपमान गरिएको खेलाडीको गुनासो छ।








