एउटा पुल बनाउन ६ पटक म्याद थप, १० वर्षमा ६० प्रतिशत काम

बोमलाल गिरी
नवलपुर, जेठ २० गते । निर्माण कम्पनीको लापरबाहीले नवलपुरको कालीगण्डकी नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र परेको छ । एउटा पुल बनाउन ६ पटक म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेको पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर विदुर सुवेदीले जानकारी दिए । छैटौं पटक थपिएको म्याद पनि चैत मसान्तमा सकिइसकेको छ ।

नवलपुरको बुलिङ्टार र तनहुँको रिसिङ गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा २०७३ साल असार २९ गते पुल निर्माणको सम्झौता भएको थियो । २६ करोड ८२ लाख ८६ हजार ४३२ रुपियाँ लागतमा लुम्बिनी, स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीले संयुक्त काम गर्ने गरी ठेक्का लिएका थिए ।

ठेकेदार कम्पनीले काम नसक्दै १३ करोडभन्दा बढि रुकम भुक्तानी लगिसकेको सुवेदीको भनाइ छ । ‘‘हालसम्म भौतिक प्रगती ६० प्रतिशत र वित्तिय प्रगती ५१ प्रतिशत भएको छ । १३ करोड भुक्तानी लगिसकेको छ,’’ सुवेदीले भने ।

जिम्मेवारी पाएका तीन वटै ठेकेदार कम्पनीले समयमा काम नगर्दा काम अलपत्र परेको हो । पटक–पटक म्याद थपिने गरेको भए पनि विभिन्न बहाना देखाएर निर्माण कम्पनीले काम नगरेको सुवेदीको भनाइ छ ।

“विगतमा विभिन्न बहाना देखाएर काम गरेनन्, २०७६ सालदेखि ०८१ सम्म प्रगती शून्य जस्तै थियो, यो वर्ष केही काम भएपनि अहिले फेरि मुल्य वृद्धि र महङ्गीको बहाना देखाएर अपेक्षाकृत उपलब्धी हुन सकेको छैन,’’ सुवेदीले भने ।

काम थालेको १० वर्षमा कालीगण्डकीमा ४ वटा पिलर ठड्याइएको छ । २ सय ९० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको पुलमा ५ स्पान रहने डिजाईनमा भएको भए पनि अहिलेसम्म एउटा स्पानको मात्रै काम भएको बताइएको छ । निर्माण अलपत्र परेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । ‘काम थालेको यतिका वर्ष भइसक्यो ठेकेदारले नियमित काम गर्दैनन्’ स्थानीय ओमकुमार श्रेष्ठले भने ।

दोष एकले अर्कोलाई दिँदै
निर्माण कम्पनीले भने समयमै काम सम्पन्न हुन नसक्नुको दोष एकले अर्कोलाई दिन थालेका छन् । स्वच्छन्द निर्माण सेवा प्रालिका अध्यक्ष जयराम लामिछाने आफ्नो नाम मात्र बेचिएको बताउँछन् । ‘‘नैतिक जिम्मेवारी त मेरो पनि छ तर मेरो सक्रियता छैन, काम गर्ने उनीहरु (लुम्बिनी र नागार्जुन जेभी)ले नै हो । नाफाघाटा हेर्ने र अन्य सबै काम गर्ने नागार्जुनले गरिरहेको छ,’’ लामिछानेले भने, गर्छु गर्छु भन्छ तर काम गर्दैन ।’’

उनले दुई दिनअघि बैठक राखेर पुससम्ममा काम गराउने भनेर लिखित कागज गराएको बताए । प्रयाप्त बजेट नहुँदा पनि काम अघि बढ्न नसकेको लामिछानेको भनाइ छ ।

लुम्बिनी निर्माण कम्पनीका अधयक्ष विष्णु शर्माले नागार्जुन निर्माण कम्पनीका दिपक सिंहले आफूहरको नाम बेचेर बदनाम गराएको आरोप लगाए । नागार्जुनबाट मात्र ठेक्का पास नहुने भएकाले लुम्बिनी र स्वच्छन्द कम्पनीलाई पनि समावेश गराई ठेक्का पारेको तर काम गर्न असफल भएको शर्माको भनाइ छ ।

‘‘उनको कम्पनीबाट मात्र ठेक्का पास नहुने भएपछि सिंहले हाम्रो कम्पनीको नाम बेचेका हुन् । हाम्रो नैतिक जिम्मेवारी त हो तर निर्माणमा हामी संलग्न छैनौं,’’ शर्माले भने । उनले ६० प्रतिशत काम भएकाले अव अफ सिजनमा काम हुन नसक्ने भन्दै फेरी एक वर्ष म्याद थप्न आग्रह गरेको बताए । नार्गाुन निर्माण प्रालिका अध्यक्ष सिंह भने पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।

सरकारले भने अव म्याद नथप्ने बरु चेतावनी दिएको छ । ‘‘हामी पटक–पटक म्याद थप्दा दिक्क भइसकेका छौं, अव म्याद थप्ने होइन, बरु चेतावनी दिन चाहन्छौं,’’ पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर सुवेदीले भने ।

पूर्वपश्चिम राजमार्गको कावासोती, दलदले, कोखे सडक हुँदै तनहुँको रिसिङ गाउँपालिका आउजाउ गर्न यो पुल आवश्यक पर्छ । कालीगण्डकी करिडोर अन्तर्गतको बुलिङटार–४ मा पर्ने कोखेमा यो पुल निर्माण सुरु भएको हो । कोखे बजारबाट एक सय मिटर उत्तरमा रहेको कालीगण्डकी नदीको घाट किनारलाई गडगडीघाट भनिन्छ ।

गैंडाकोट, कावासोती र दलदलेबाट अर्खला कोखे हुँदै तनहुँको भिमाद हुँदै पोखरा पुग्न यो पुल तरेर जाँदा बाटो छोटो हुन्छ । गैँडाकोट, कावासोती र दलदलेबाट पोखरा जाने यात्रु हाल कोखेभन्दा १३ किलोमिटर पश्चिम डेढगाउँ हुँदै तनहुँको भिमाद बजार पुग्ने गरेका छन् ।