बोमलाल गिरी
नवलपुर, जेठ २६ गते । गत भदौमा भएको जेन्जी आन्दोलनमा चितवन जेलबाट भागेका १७ जना गैँडा तस्कर र देशभरबाट भागेका ४० जना वन्यजन्तु तस्कर अझै फरार छन् । कारागारबाट भागेकोे नौं महिना बितिसक्यो । त्यसरी भागेकाहरूलाई कारागारमै फर्कन कारागार व्यवस्थापन विभागले पटक–पटक आग्रह गर्दा पनि तस्करहरु फर्किएका छैनन् ।
कारागारमा कैद सजाय भुक्तान गरिरहेका वन्यजन्तु अपराधसँग सम्बन्धित कैदीबन्दी नफर्किदा सुरक्षामा चुनौती थपिएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिल बहादुर पुर्जाले बताए । ‘‘प्रहरीसँगको समन्वयमा खोज्ने कार्य जारी छ, तर फेला परेका छैनन, त्यसैले चुनौती त बढेको छ नै,’’ पुर्जाले भने, ‘‘हामी पनि चनाखो भएर लागेका छौं ।’’
निकुञ्जले तस्करी रोक्न सीसी क्यामेरा, जासुसी क्यामेरा, ड्रोन क्यामेरा तथा जीपीएस जडित सफारी गाडीबाट निरन्तर अनुगमन गरिरहेको जनाएको छ । फरारमध्ये केही भारतीय नागरिक पनि छन् । उनीहरू गैँडा, हिउँचितुवा, सालक, हाब्रे, रेडपान्डा लगायत दुर्लभ वन्यजन्तुका शिकार–तस्करी गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएका कैदीबन्दी हुन् । त्यसमा गैँडा मारेर खाग बिक्री र ओसारपसार गरेको कसुरका मात्र १५ जना छन् ।
फरार रहेकाहरू समेतबाट निकुञ्ज सुरक्षामा चुनौती थपिएको प्रशासनले जनाएको छ । सोहीअनुसार उनीहरुलाई पक्राउ गर्नका लागि सूचना संकलन र सहजीकरणमा जुटेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताए ।
हतियारसहित निकुञ्ज प्रवेश गर्दै गर्दा दुईजना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जको टोलीले अत्याधुनिक हतियारसहित निकुञ्ज प्रवेश गर्दै गर्दा नवलपुरबाट दुईजनालाई पक्राउ गरेको छ । जेठ २३ गते राती नवलपुरको मध्यविन्दु नगरपालिका–३ ब्रम्हथान क्षेत्रबाट हतियार लिएर निकुञ्ज प्रवेश गर्न लागेका दुईजनालाई निकुञ्जबाट खटिएको टोलीले पक्राउ गरेको सूचना अधिकारी थापाले जानकारी दिए ।
उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । पक्राउ परेकाहरुबाट उनीहरुको सञ्जाल पत्ता लगाउन सजिलो होस् भनेर नाम गोप्य राखी अनुसन्धान भइरहेको निकुञ्जको भनाइ छ । उनीहरुमध्ये एक जना केही समय अघिमात्र गैँडा सम्बन्धि मुद्दाको कारवाही भोगर छुटेका पटके हुन् भने र अर्को एक नयाँ तस्कर भए पनि जेनजी आन्दोलनमा फरारहरु मध्येका नभएको थापाले स्पष्ट पारे ।
उनीहरुलाई दुई थान अत्याधुनिक हतियारसहित पक्राउ गरिएको थापाले बताए । पक्राउ गरिएकाहरुलाई निकुञ्ज हिरासतमा राखेर अनुसन्धान भैरहेको छ । निकुञ्जले गैँडाको चोरी शिकारी शून्य अभियान चलाइरहेका बेला गैँडा मार्ने योजना बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
शून्य चोरी शिकारी
कारागारबाट भागेका वन्यजन्तु तस्करका कारण सुरक्षा चुनौती थपिए पनि निकुञ्ज पछिल्लो ३१ महिनाभन्दा बढी समयदेखि गैँडाको चोरीतस्करी हुनबाट जोगाउन सफल भएको छ । पछिल्लो ९३७ दिनयता निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा एउटा गैँडा पनि चोरीशिकारबाट नमरेको सूचना अधिकारी थापाले बताए ।
उनका अनुसार २०८० साल कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुईवटा गैँडा मारेका थिए । त्यसको नौ दिनमा नौ जना अभियुक्तलाई निकुञ्जले पक्राउ गरी सार्वजनिक गरेको थियो । त्यसयता सुरक्षा रणनीतिमा थप परिवर्तन गरी काम गरिरहेको र स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेकाले चोरीशिकार हुन नपाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जाको भनाइ छ ।
चोरी शिकारीबाट जोगिएका गैँडा कालगतिले मर्दै
चोरी शिकारबाट जोगिएका गैँडा प्राकृतिक कारणले मर्ने क्रम भने रोकिएको छैन । निकुञ्जमा चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनाको अवधिमा २० वटा गैँडाको मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी थापा मगरका अनुसार ११ महिनाको अवधिमा विविध कारणले २० वटा गैँडा मरेका हुन् ।
निकुञ्जका अनुसार मरेका २० मध्ये ११ वटाको मृत्यु प्राकृतिक कारणले भएको हो । ५ वटा अर्को गैँडासँग जुधेर घाईते भई मरेका हुन् भने दुई वटा दलदलमा फसेर र दुईवटा करेन्ट लागेर मरेका हुन् ।
पछिल्लो समय जेठ २ गते करेन्ट लागेर कावासोती–१ स्याली टोलमा एउटा गैँडा मरेको थियो । वन्यजन्तुबाट बालि जोगाउन बारीमा करेन्ट छोडेको अभियोगमा स्थानीय भिम प्रसाद दर्जीलाई नवलपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
डिभिजन वन कार्यालयले अनुसन्धानपछि १० लाख जरिवाना र १५ वर्ष कैदको माग दाबीसहित जेठ १२ गते नवलपुर जिल्ला अदालत पेश गरिएका दर्जीलाई जेठ १३ गते जिल्ला न्यायाधीश प्रकाश कोईरालाको इजलाशले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
राहातमा साढे ८४ लाख खर्च
निकुञ्जका अनुसार चालु आवमा मावन र वन्यजन्तु बीचको द्धन्द्धबाट भएको असर पनि कम भएको छ । गत आर्थिक वर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट १४ जनाको ज्यान गएको थियो । तर चालु आवको ११ महिनामा तीन जनाले ज्यान गुमाएका निकुञ्जले जनाएको छ ।
वन्यजन्तुबाट भएको क्षतिको राहातस्वरप निकुञ्जले ८४ लाख ४७ हजार रुपैयाँ वितरण गरेको जनाएको छ । जसमध्ये मृत्यु भएका मानिसको परिवारलाई ३० लाख, घाइतेहरुका लागि १६ लाख ८८ हजार, अन्नबालीमा पुर्याएको क्षतिका लागि १५ लाख ८८ हजार, कुखुरामा भएको क्षतिका लागि ३१ हजार ५०० सय वितरण गरिएको निकुञ्जको भनाइ छ ।









