सम्झौता अवधि सकिन ६ महिना बाँकी छँदा देवचुली ट्रमा सेन्टरको प्रगती २५ प्रतिशत

नवलपुर, असार ३० गते । नवलपुरको देवचुली नगरपालिकाको वडा नं. १७ मा निर्माणाधिन ट्रमा सेन्टरको सम्झौता अवधी सकिन ६ महिना बाँकी रहँदा भौतिक प्रगती २५ प्रतिशत मात्र पुगेको छ ।

२०८२ असार ३० गतदेखि निर्माण सुरु गरिएको ट्रमा सेन्टरको भौतिक प्रगति एक वर्षमा २५ प्रतिशत पुगेको सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरका ईन्जिनियर कृष्ण सिंहले जानकारी दिए । उनका अनुसार आयोजनाको वित्तीय प्रगति १५ प्रतिशत पुगेको छ ।

सम्झौता अनुसार २०८३ को पुस मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने भए पनि आयोजनाको काम निक्कै सुस्त देखिएको हो । भ्याटसहित १० करोड ३५ लाख १८ हजार ८०१ रुपियाँमा निर्माण सम्पन्न गर्ने गरि चितवनको बिबिएस जेभिले ठेक्का प्राप्त गरेको थियो ।

राष्ट्रिय योजना आयोगको २०८० फागुन ६ गते बसेको बैठकले ट्रमा सेन्टरलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा निर्धारण गरेको थियो । मन्त्री परिषदको २०८१ साउन १४ गते बसेको बैंठकले देवचुली नगरपालिका–१७ मा रहेको झराही सामुदायिक वनको २ हेक्टर जग्गामा ट्रमा सेन्टर बनाउन दिने गरि भोगाधिकार दिने निर्णय गरेको थियो । सोही बैठकले उक्त वन क्षेत्रमा विभिन्न प्रजातिका ६ सय ४६ वटा रुख, पोल काटनको अनुमती दिइएको थियो ।

पूर्वपश्चिम राजमार्ग विस्तार भएसँगै सडक दुर्घटना अत्याधिक बढेको छ । त्यसैले ट्रमा सेन्टर निर्माणलाई तिब्रता दिन स्थानीयले ठेकेदार कम्पनीलाई आग्रह गरिरहेका छन् । सुरक्षित सडक नहुनु, ट्राफिक नियम पालना नगर्नु, सवारी चालक र पैदल यात्रुलाई ट्राफिक ज्ञान नहुनु, छिटो पुग्न तीव्र गतिमा सवारी साधन चलाउनु लगायत कारणले दुर्घटनाका घटना बढिरहेका छन् ।

मुख्य राजमार्गमा निर्माणधिन ट्रमा सेन्टरबाट नवलपुर र छिमेकी जिल्लामा हुने दुर्घटनाका बिरामीलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।