शुक्रबार र शनिवार गरी दुई दिनमा तीन जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । जसबाट दुई जनाको मृत्यु भइसकेको छ भने एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेकाे छ ।
काठमाडौंको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ। यसअघि मुगुका गणेश नेपालीको शुक्रबार मृत्यु भएको थियो । गणेशको मृत्यु प्रकरणले संसददेखि सडकसम्म तातिरहेको बेला राउतले ज्यान गुमाएका हुन् ।
उनको शनिबार अपराह्न वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। राउतको शरीरको ६० प्रतिशत भाग जलेको थियो ।
शनिबार बिहान काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित आफ्नै घरमा ४५ वर्षीय राउतले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले जलेर घाइते भएका राउतलाई प्रहरीले वीर अस्पताल पुर्याएको थियो। पारिवारिक विवादका कारण व्यवसायी राउतले आफ्नै शरीरमा आगो लगाएको देखिएको प्रहरीको भनाइ छ।
पछिल्लो तीन दिनमा तीन जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। त्यस्तै, शुक्रबार सर्लाहीका विवेक मण्डलले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आगोले जलेर घाइते भएका उनको गम्भीर अवस्थामा उपचार भैरहेको छ ।









