बोमलाल गिरी
नवलपुर, असार ३२ गते । देशका विभिन्न नदी किनारमा बसोबास गर्दै डुङ्गा तार्ने, माछा मार्ने र सुन चालेर जीविकोपार्जन गर्दै आएका अल्पसंख्यक बोटे समुदायको जीवनशैली फेरिन थालेको छ। पछिल्ला वर्षमा नदीमा ठेक्का प्रणाली लागू हुनु, जलचरको संख्या घट्नु तथा कडा नियमनका कारण परम्परागत पेसा सङ्कटमा परेपछि बोटे समुदाय वैकल्पिक रोजगारीतर्फ आकर्षित भएको हो।
नवलपुर र चितवनका नदी किनारमा बसोबास गर्ने बोटे समुदाय अहिले घरवास (होमस्टे) र नेचर गाइड पेसालाई मुख्य आयआर्जनको माध्यम बनाउन थालेका छन्। यसले उनीहरूको जीवनस्तर सुधार्नुका साथै भाषा, संस्कृति र परम्पराको संरक्षणमा पनि टेवा पुगेको माझी, मुसहर, बोटे कल्याण सेवा समितिका सचिव ज्ञानबहादुर बोटेले बताउनुभयो। २०७८ सालको जनगणनाअनुसार नेपालमा बोटे समुदायको जनसङ्ख्या ११ हजार २५८ रहेको छ। तीमध्ये चितवनमा २८ प्रतिशत र नवलपुरमा २२ प्रतिशत बसोबास गर्छन्।
होमस्टेमा आउने पर्यटकलाई बोटे समुदायले आफ्नो परम्पराअनुसार अबिर/टीका, फूलमाला र ‘बिन्ती बाटी’ (मान्यजन तथा पाहुनालाई गरिने सम्मान) गरेर स्वागत गर्छन्। त्यसपछि हाँसका परिकार, साग, निगुरोको तरकारी, माछाको अचार, घोंगी तथा बाँसको तामाको चोखा लगायत स्थानीय परिकार खुवाउने चलन छ।
कावासोती–१७ की सरिता बोटेले अहिले जीविकोपार्जनका लागि खोला, वनजङ्गल धाउन नपर्ने बताइन् उनका अनुसार अहिले होमस्टेमा आउने पाहुनाको स्वागत–सत्कार र स्थानीय परिकार तयार पार्दै दैनिकी बित्ने गरेको छ।
“पहिले गुजारा चलाउन माछा मार्न जाने, जङ्गलमा घाँस–दाउरा खोज्ने र निगुरो टिप्नुपर्ने अवस्था थियो,” उनले भनिन, “आर्थिक अभावले परिवार पाल्न निकै कठिन थियो। होमस्टे सञ्चालन भएपछि अहिले जीविकोपार्जन सहज भएको छ।”
चितवनको माडी नगरपालिका–बनकट्टास्थित १२० घरधुरीमध्ये ३० घरधुरी होमस्टेमा आबद्ध रहेको बोटे सामुदायिक होमस्टेका सञ्चालक जगनारायण बोटेले जानकारी दिए । उनका अनुसार नयाँ पुस्ता शिक्षासँगै निर्वाहमुखी पेसालाई व्यावसायिक बनाउनेतर्फ अग्रसर छ।
होमस्टेले भाषा र संस्कृतिको संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। “हाम्रो भाषा र संस्कृति लोप हुने अवस्थामा पुगेका छन्। त्यसैले पाहुनाको मनोरञ्जनका लागि सोहोर्ना, जगिया, गोलेनी, सोल्टी–सोल्टिनी, सोरठी, मारुनीलगायत परम्परागत नाच र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्छौँ,” उनले भने ।
नेपाल बोटे समाज नवलपुरका अध्यक्ष राजेन्द्र बोटेले समुदायको आर्थिक उत्थान र कला–संस्कृतिको संरक्षणका लागि होमस्टे र नेचर गाइडलाई वैकल्पिक पेसाका रूपमा प्रवर्द्धन गरिएको बताए । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको आसपास बसोबास भएकाले पर्यटकलाई जंगल घुमाएर पनि आम्दानी गर्न थालेको उनको भनाइ छ।

अमलटारी, दिव्यपुरीलगायत क्षेत्रबाट चितवन राष्ट्रिय निकुञ्ज भ्रमण र जंगल सफारी गर्ने पर्यटकको संख्या बढेसँगै युवा पुस्तामा नेचर गाइड पेसाप्रति आकर्षण बढेको छ। उनीहरूलाई समय–समयमा सुरक्षा, जैविक विविधता, वन तथा वातावरण संरक्षणसम्बन्धी तालिम पनि दिइने गरिएको छ।
कावासोती–१५ बाघखोरकी २० वर्षीया सुजिता बोटेले राम्रो समूहसँग काम गर्न पाए पारिश्रमिकसँगै राम्रो टिप्ससमेत पाइने भएकाले नेचर गाइड बन्न चाहेको बताइन् ।
“पहिले परम्परागत पेसाबाहेक अरू केही थाहा थिएन,” उनले भनिन्, “अहिले धेरै कुरा सिक्ने अवसर मिलेको छ। वन, वातावरण र जैविक विविधताको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा योगदान गर्ने उत्साह बढेको छ।”
सरकारले जंगल सफारीमा प्रत्येक समूहसँग कम्तीमा एक जना लाइसेन्सप्राप्त गाइड अनिवार्य गरेपछि रोजगारीका अवसर बढेको राजेन्द्र बोटेले बताए । उनका अनुसार समुदायका करिब ३० जनाले नेचर गाइडको तालिम लिइसकेका छन् भने केहीले लाइसेन्ससमेत प्राप्त गरेका छन्।
खोला, नदी र जंगलसँग जीवन जोडिएको बोटे समुदाय प्रकृतिपूजक मानिन्छ। उनीहरू रूख, ढुङ्गा, नदी र हावाको पूजा गर्छन्। होमस्टे सञ्चालनसँगै तरकारी खेती, कुखुरा, हाँस, बाख्रा र माछापालन पनि व्यावसायिक रूपमा विस्तार हुन थालेको छ। गाउँमा समूह गठन गरी बचत सङ्कलन गर्ने तथा व्यवसाय गर्न चाहनेलाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।
बोटे समुदायका अग्रजहरूले युवा पुस्तालाई वैकल्पिक पेसामा आकर्षित गर्न राज्यले थप सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। “हामी नदीसँगै जन्मियौँ, नदीमै हुर्कियौँ,” उनीहरू भन्छन्, “अब राज्यले हाम्रा सन्तानलाई नयाँ अवसर र नयाँ बाटो देखाइदिए हाम्रो संघर्षले सार्थकता पाउनेछ।”









